सुनसरी : आफैंले काम गर्ने होटलबाट चोरी गरी भागेका भोजपुर आमतेक– ५ बाँसबोटे घर बताउने २३ वर्षीय महेश सुन्दासलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उनको साथबाट चोरी गरेको नगद १ लाख ९४ हजार ४ सय ५८ रुपैयाँ, १ तोलाको सुनको बाला, आधा तोलाको सुनको तिलहरी, ६ आना सुनको औंठी, १० आनाको चाँदीको पाउजु १ जोर, १ तोलाको चाँदीको कल्ली, नागरिकता ३ थान, तमसुक थान १ समेत बरामद गरेको छ।
एक हप्ता अगाडिदेखि इटहरी ८ स्थित मनबहादुर कटवालले सञ्चालन गर्दै आएको सिद्धकाली होटलमा काम गर्दै आइरहेका सुन्दासले बिहीबार होटेल सफा गर्ने क्रममा चोरी गरी भागेका थिए। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा इटहरी स्थित बसपार्कबाट उनी पक्राउ परेका हुन्।