
काठमाडौं : आज शुक्रबार दुई नेपाली चलचित्र एकैसाथ सार्वजनिक भएका छन्। फ्राइडे रिलिजको ट्रेन्ड पछ्याउँदै चलचित्र 'गाँठो' र 'ड्राइभर दाइ' प्रदर्शनमा उत्रिएका हुन्।
पारिवारिक सम्बन्धमा आधारित गाँठो मल्टिप्लेक्स र सिंगल स्क्रिन गरी देशभरका ४० भन्दा बढी हलमा प्रदर्शन हुँदैछ। त्यस्तै गाडी चालकको कथा बोकेको फिल्म ड्राइभर दाइले भने मल्टिप्लेक्समा ठाउँ पाएको छैन।
बिएस बलामीको निर्देशन रहेको ड्राइभर दाइमा सीमा केसी, दिनेश शर्मा, प्रज्वल गिरी, किशोर खतिवडाको मुख्य भूमिका रहेको छ भने सुरज भुषाल निर्देशित गाँठोमा नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको अभिनय छ।
गाँठो निर्माण युनिट आज बिहानैदेखि दर्शकको प्रतिक्रिया बुझ्न हलहलमा पुगेको छ। निर्देशक भुषालका अनुसार सबै हल हाउसफुल नभए पनि दर्शकको उपस्थिति सन्तोषजनक रहेको छ।'एकैचोटि हाउसफुल नभए पनि माउथ पब्लिसिटी बढ्दै गएपछि दर्शक बढ्नेमा ढुक्क छु,' उनले भने।
फिल्मका कलाकारहरु नाजिर हुसेन र नम्रता श्रेष्ठ पनि दर्शकहरुको फ्लो देखेर खुसी छन्। नाजिरले भने, ’म सेलिब्रिटी हुन्छु भनेर काम गर्दिन तर मैले गरेको काम देखेरै दर्शकले माया गरेका छन्।'