काठमाडौं : भदौ १६ गते बिहान ९ बजे।
 
दुई नकावधारीहरु काठमाडौं महानगरपालिका-१६ वनस्थलीस्थित अनिश रेमिटमा प्रवेश गर्छन्। रेमिटमा सञ्चालक गणेशमान श्रेष्ठ र एक कर्मचारी मात्र हुन्छन्। ती नकावधारीहरुले नक्कली पेस्तोल र खुकुरी देखाएर दुई लाख रुपैयाँ माग गर्छन्। पेस्तोल आफ्नो कन्चटमा तेर्सिसकेपछि सञ्चालक श्रेष्ठको केही उपाय चल्दैन।
 
तर संयोग मान्नुपर्छ, नकावधारीले मागे बराबरको रकम रेमिटमा हुँदैन। मागेजति पैसा नभएपछि उनीहरु अपहरण गर्ने र मारेर खाल्डोमा पुर्नेसम्मको धम्की दिन्छन्।  श्रेष्ठ भने पैसा नभएकोले बरु चेक दिने आश्वासन दिन्छन्। श्रेष्ठले प्रस्ताव उनीहरुलाई स्विकार्य हुँदैन। 'दुई दिनपछि आउँछौं पैसा ठिक पार्नु' भन्दै उनीहरु निस्कन्छन् तर प्रहरीलाई खबर गरे अपहरण गरेर मार्ने भन्न बिर्संदैनन्।
 
केही मिनेटको आतंकबाट सञ्चालक श्रेष्ठ मुक्त त हुन्छन् तर आसन्त संकटले झन् पीडा दिन थाल्छ उनलाई। दुई दिनपछि फेरि आए भने के गर्ने? यही प्रश्नले उनी चिटचिट हुन्छन्।
 
प्रहरीलाई खबर गरौं या नगरौं- यसमा पनि उनी दुविधामा पर्छन्। अन्तत उनमा आँट भरिएर आउँछ र निर्णय लिन्छन्- पैसा कुनै हालतमा नदिने।
 
अन्तत उनी प्रहरीलाई सूचना दिन बाध्य हुन्छन्। तर केही दिनमै श्रेष्ठ आफ्नो घरको बरन्डामा इटामा बाँधेको चिठी फेला पार्छन्। रोमन अक्षरमा लेखिएको चिठीमा प्रहरीलाई खबर गरेर गल्ती गरेको भन्दै दुई लाखबाट माग गरेको रकम बढाएर पाँच लाख पुर्याउँछन्। पैसा तुरुन्तै नदिए मार्ने धम्की पनि लेखिएको हुन्छ चिठीमा।
 
यो जञ्जालबाट श्रेष्ठ तबमात्र मुक्ति पाउँछन्, जब प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल हुन्छ।
                                                                  ***
बिहीबार अपराध महाशाखाको प्रहरी टोलीले ती नकावधारीलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरुमा रुपन्देही सिद्धार्थनगर नपगरपालिका-२ का २७ वर्षीय रवीन गुरुङ, गोरखा बारपाक गाविस-१ वस्ने २४ वर्षीय जिवाजी गुरुङ, रामेछाप गेलु गाविस-७ का २४ वर्षीय माइकल भन्ने विष्णु मगर रहेका छन्। नेपाली मूलका क्यानाडेली नागरिक रवीन मुख्य योजनाकार भएको र अन्य संलग्नको खोजी भइरहेको प्रहरी अपराध महाशाखाले जनाएको छ। 
 

 
 
