
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणले दुईपक्षीय सम्बन्ध सुधारमा सकारात्मक अध्यायको थालनी हुने दाबी गरेका छन्।
भारतीय राष्ट्रिय टेलिभिजन दुरदर्शनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणले दुई देशबीचको सम्बधनमा नयाँ अध्याएको थालनी गर्नेमा आफू विश्वस्त रहेको बताए। ‘मेरो भ्रमणले दुई पक्षीय सम्बन्ध सकारात्मक बनाउन नयाँ अध्याएको थालनी हुनेछ भन्नेमा म विश्वस्त छु,’ उनले अन्तर्वार्तामा भने, ‘दुई देशबीचको सम्बन्धलाई विश्वासमा बदल्नु र मोदीजीको नेपाल भ्रमणकै समयको उत्साह र विश्वास जगाउनु मेरो प्राथमिकता हो।’ उनले १७ वर्षपछि भएको भारतीय प्रधानमन्त्रीको भ्रमण र संसदमा मोदीको सम्बोधनले नेपाली जनतामा नै एकप्रकारले अपेक्षा उच्च बनाइदिएको पनि बताए।
उनले धेरै नजिकको सम्बन्ध हुँदा केही समस्या आउनु स्वाभाविक भन्दै त्यसलाई इतिहासकै नजिर हेरेर सच्याउनुपर्ने बताए। उनले भारतसँग असल सम्बन्ध अघि बढाउनुको कुनै विकल्प नभएको भन्दै उनले दुई देशबीचको सम्बन्ध सदृढ बनाउँदै अघि बढ्ने बताए।
उनले गतवर्ष नै दुवै विद्वानहरु संलग्न 'प्रबुद्ध समूह'को बैठक आयोजना गरिसकेको भन्दै त्यसले नै नेपालले के चाहन्छ भनेर प्रतिबिम्वित गर्ने बताए। 'हाम्रा सम्बन्धलाई पुन: परिभाषित गर्न र कमजोरीमा सुधार गर्नका लागि गत साल नै प्रबुद्ध समूहको बैठक गरेका थियौं,' उनले भने, 'त्यसले नै हाम्रो सम्बन्ध अघि बढाउने चाहनालाई प्रतिविम्बित गर्छ।' उनले नेपालले भारतसँगको सम्बन्धको इतिहासलाई पुनर्व्याख्या गर्न र सम्बन्धलाई बलियो बनाउँदै अघि बढाउन आतुर रहेको बताए।
प्रचण्डले नेपालले आधारभूत रुपमा शान्ति प्रक्रियाका महत्वपूर्ण काम पूरा गरेको भन्दै नेपालमा लगानीका लागि अहिले वातावरण बनिसकेको बताएका छन्। 'हामीले आधारभूत रुपमा शान्ति प्रक्रियाका कामलाई पूर्णता दिएका छौं, सबैभन्दा महत्वपूर्ण कम्व्याटेन्सहरुको व्यवस्थापन गरिसकेका छौं,' उनले भने, 'अब नेपालको राजनीतिक अवस्था सकारात्मक भएको छ। म भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्दै आर्थिक विकासमा भाग लिन आह्वान गर्छु।'
पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआइले नेपाली भूमि प्रयोग गरेर भारत विरुद्धका गतिवधि सञ्चालन गरिरहेको भन्ने प्रस्तोताको आरोपलाई खण्डन गर्दै प्रधानमन्त्रीले नेपालको नीति आफ्नो टेरिटोरीकै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने भएको भन्दै त्यसलाई सरकारलाई कडाइका साथ लागू गरेको प्रस्ट्याए। 'म के स्पस्ट पार्न चाहन्छु भने, नेपाल सरकारले कसैलाई पनि छिमेकविरुद्ध हाम्रो भूमि प्रयोग गर्ने अनुमति दिएको छैन,' उनले भने, 'हामीसँग क्लियर पोलेसी नै छ कि हामी छिमेकीविरुद्ध आफ्नो भूमि प्रयोग हुन दिँदैनौ। त्यसलाई सरकारले कडाइका साथ पालना गराइरहेको छ।'
मधेस समस्याका सम्बन्धमा
प्रधानमन्त्री नेपालको संविधान विश्वकै सर्वोत्कृष्ट र वैधानिक बाटोबाट जारी भएको भन्दै संविधान जारी गर्ने वैधानिकतामा कुनै प्रश्न नभएको बताए। उनले हरेक देशमा संविधान निर्माणका नियम अनुसार हुने भन्दै नेपालको संविधान पनि त्यही विधिबाट जारी भएको बताए। उनले १०० प्रतिशतले प्रश्न नै नउठाउने र सबैलाई मान्य हुने संविधान कसैले पनि बनाउन नसक्ने पनि दाबी गरे। । 'यति हुँदाहुँदै पनि नेपालको तराई र पहाडकै जनजाति समूह असन्तुष्ट रहे। उनीहरुका निश्चित माग पनि छन्,' उनले भने, 'मैले सरकार सम्हालिसकेपछि अधिकतम राम्रो गर्ने प्रयास गरेको छु, त्यहाँ धेरै विश्वासको वातावरण पनि तयार भएको छ।'उनले विश्वासको वातापरण निर्माण गरेर केही प्रक्रिया थालनी गरेको बताए। 'करिब दुई महिनाभित्र पूरै वातावरण निर्माण हुन्छ भन्नेमा म विश्वस्त छु। उनीहरुका जायज माग सम्बोधनमा सक्षम हुनेछु,' प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
उनले मधेसी र जनजातिले राखेका मागको नेता विगतमा आफू नै भएको भन्दै आफूलाई सहज हुने र त्यको अनुभव पनि आफूसँगै रहेको उनको दाबी छ।
उनले नेपालमा छोटो समयमा स्थानीयदेखि प्रदेश र संघीयसम्म तीन वटा चुनाव गर्नुपर्ने भन्दै छिटो विश्वासको वातावरण निर्माण गरेर अघि बढ्नुपर्ने बताए। 'हामीले छोटो समयभित्रै स्थानीय र संघीय तहका तीन वटा चुनाव गर्नुछ, त्यसका लागि हामी आन्तरिक रुपमा सकारात्मक वातावरण निर्माणका लागि लागेका छौं,' उनले भने।