- हरि लामिछाने
भारत भ्रमणबारे जानकारी दिन आज एक होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री महतले सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य सफल भएको दाबी गरे।
भारत सरकार, राजनीतिक दल र जनताको तहमा पनि प्रधानमन्त्रीको भ्रमणबाट उच्च उत्साह देखिएको आफूले महसुस गरेको उल्लेख गर्दै महतले यस भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ थपेको बताए।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित भएको द्विपक्षीय वार्ताबारे जानकारी दिँदै उनले दुई देशबीचका सबै विषयमा खुलेर छलफल भएको र त्यसले आगामी दिनमा सकारात्मक सन्देश दिने उल्लेख गरे।
विगतमा भएका सम्झौता एवम् प्रतिबद्धतालाई निश्चित समय सीमाभित्र कार्यान्वयनमा ल्याइने र त्यसका लागि दुई देशबीचमा भएका मन्त्री, सचिव एवम् प्राविधिकस्तरीय संयन्त्रलाई क्रियाशील गराउने प्रतिबद्धता व्यक्त गरिएकाले पनि आगामी दिनमा विकासको विषयले प्राथमिकता पाउने उनको भनाइ थियो।
संविधानका विषयमा भारत सरकारले पहिले नै स्वागत गरेको उल्लेख गर्दै मन्त्री डा महतले लोकतन्त्रको सुदृढीकरणमा जाने प्रक्रियालाई सराहना गरेको जानकारी दिए। 'नेपाली जनताले संविधानसभा मार्फत संविधान निर्माण गर्ने ऐतिहासिक काम भयो, त्यसलाई अझै विकसित गर्ने र कतिपय मागलाई सम्बोधन गर्ने सरकारको पहललाई पनि सरकारात्मक रुपमा भारतले लिएको छ, त्यसकारण संविधानको विषयमा कुनै समस्या छैन,' उनले भने। रासस