
चितवन : गत बैसाखदेखि देखिएको स्क्रब टाइफस रोगबाट हालसम्म चितवनमा २०५ जना प्रभावित भएका छन्। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार वैशाखमा एक, जेठमा एक, असारमा ३१, साउनमा ७७ र भदौ महिनामा ९५ जनामा यो रोग देखिएको छ। कार्यालयका भेक्टर कन्ट्रोलर राम केसीका अनुसार चितवन मेडिकल कलेजमा १८८, नारायणी सामुदायिक अस्पतालमा नौ र भरतपुर अस्पतालमा आठ जनामा यो रोग देखिएको हो। चितवन मेडिकल कलेजमा उपचाररत चितवन र तनहुँका एकएक जनाको मृत्यु भएको हो।
भरतपुर अस्पतालले निःशुल्क रुपमा यो रोगको ल्याब परीक्षण गरिरहेको छ। कार्यालयले दुई सय कीट उपलब्ध गराएपछि अस्पतालले निःशुल्क परीक्षण गराएको हो।
हरेक महिना यो रोगका बिरामीको सङ्ख्या बढ्दै गएपछि कार्यालयले समुदायस्तरसम्म पुग्ने गरी स्थानीय सञ्चारमाध्यम, पम्प्लेट र छलफललगायत माध्यमबाट सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ।
जिल्लामा रोगको प्रकोप बढेपछि केन्द्रीय टोलीले मुसाको भिसेरा परीक्षण गर्न नमूना सङ्कलन गरेको छ। केसीका अनुसार टोलीले सय वटा मुसाको जाल हाले पनि १० वटा मुसा समात्न सफल भएको थियो। १० वटा मुसा परीक्षण गर्दा सात वटामा माइट फेला परेको थियो। रासस