नयाँदिल्ली : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारत सरकारले भूकम्पपीडितलाई उपलब्ध गराएको एक विलियन डलरमध्ये ७५० मिलियन डलर सहुलियत ऋण र बाँकी अनुदान भएको प्रष्ट पारेका छन्।
भारत भ्रमणबारे जानकारी दिन आज एक होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने, 'सहुलियत ऋणको सेवा र सामग्री ७५ प्रतिशत भारतको हुनुपर्ने व्यवस्था थियो, त्यसलाई हटाएर सहज बनाउने सहमति भएको छ।'
उनका अनुसार ढल्केबरमा सबस्टेसन बनाउने कुरामा सहयोग गर्ने, तराई हुलाकी राजमार्गमा दोस्रो चरणको महत्वपूर्ण आयोजनामा सहुलियत ऋण दिने र ४०० केभी टान्समिसन लाइन गोरखपुर–बुटवललाई पनि अगाडि बढाउने सहमति भएको छ।
पञ्चेश्वर आयोजना अगाडि बढाइने र विद्युत् व्यापारमा सहज पहुँचलाई पनि द्विपक्षीय मन्त्रीस्तरीय संयन्त्रले त्यसलाई टुङ्ग्याउने सहमति भएको छ। सीमा सुरक्षाका सन्दर्भमा थप सहजीकरण गर्ने, थप नाका खोल्ने, सिँचाइ आयोजना, लिङ्क रोडलाई विकसित गर्ने, रेल्वे लिंकलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्ने विषयमा कुरा अगाडि बढाइएको छ।रासस