काँकडभिट्टा (झापा) : प्रगतिशील साहित्यिक जागरणका लागि प्रथम हिमाल आरोही साहित्यकार लक्ष्मण सापकोटाले आज काँकडभिट्टाबाट मेची–महाकाली दौड यात्रा सुरु गरेका छन्।
दुई वर्षअघि ६ हजार २ सय मिटर अग्लो सोलुखुम्बुको इम्जात्से हिमालको सफल आरोहण गरेका काभ्रेपलाञ्चोकका साहित्यकार सापकोटाले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रतीक चिह्नसहित काँकडभिट्टास्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिकबाट आफ्नो यात्रा सुरु गरे।
उनले विश्वको प्रथम साहित्यिक आरोहणका रुपमा सगरमाथाको आरोहण गर्ने उद्देश्यले आर्थिक सहयोग सङ्कलनका लागि मेची महाकाली दौड सुरु गरेको बताएका छन्। काँकडभिट्टाबाट सुरु गरेको यात्रा इटहरी, कञ्चनपुर, लहान, ढल्केवर, चन्द्रनिगाहपुर, हेटौँडा, भरतपुर, बुटवल, चन्द्रौटा, लमही, कोहलपुर, भुरीगाउँ र झलारी हुँदै असोज १८ गते महाकालीको गड्डाचौकी पुगेर समापन हुनेछ।
यात्राका क्रममा उनले विभिन्न स्थानमा कविता वाचन तथा साहित्यिक गोष्ठीसमेत गर्नेछन्। भानु साहित्यक प्रतिष्ठान झापाका अध्यक्ष कृष्णप्रसाद उप्रेती, वरिष्ठ साहित्यकार चुडामणि रेग्मी, पुण्यप्रसाद खरेल, विजय खरेल, पत्रकार चन्द्र भण्डारी लगायतले यात्रा सफलताको शुभकामना व्यक्त गरे।