PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पाल्पा : साँघुरा गल्लीबीच फराकिलो राजनीतिक चेतना



ऋषिकेश दाहाल

पाल्पा : साँघुरा गल्लीबीच फराकिलो राजनीतिक चेतना

यात्रा


श्रीनगर आफैँमा चिसो ठाउँ। यहाँबाट हेर्दा तल पूरै बादलले ढाकेको फाँट त्यसमाथि पाल्पा शहर।

तह-तहमा देखिने सुन्दरताको बयान गरेरै नसकिने। त्यसमाथि पर्यटकीय महत्वको पाल्पामा भर्खरै उड्न थालेका प्यराग्लाइडिङले यहाँको सम्भावनाका उडानहरु देखाइरहेको थियो। नयाँ ठाउँबाट उडान भर्न सकेकोमा हौसिँदै थिए यहाँका पर्यटन व्यवसायीहरु। ढाका, करुवा, चुकाउनी र पुरानो दरबारले चिनाउने पाल्पा जति व्यवस्थित हिल स्टेसनका रुपमा बन्न सक्थ्यो त्यो भने पूर्णविरामतिर जाँदैछ। किनकि साँघुरा गल्लीहरुले विस्तारका सम्भावनालाई खुम्च्याइरहेको छ।

 
अग्लो श्रीनगर डाँडामा अग्लो टावर पाल्पाको खेलकुद मैदानबाट पनि देख्न सकिन्छ। बुटबलबाट छोटो दुरीमै पुग्न सकिने पाल्पामा पुराना घर सकिनै लागिसके। नसकिएको भनेको त्यहाँको वस्तीको बनोटमात्र हो। साँघुरा र भिराला गल्लीहरु विस्तार हुनुअघि नै कंक्रिटले चेपुवामा पारिसकेको छ।
 
साघुँरा सडकहरुको बाक्लो सञ्जालले पाल्पाको परिचय बोल्छ। यहाँका गल्लीले भक्तपुरको झल्को दिन्छ। नेवारहरुको बाक्लो बस्ती रहे पनि यहाँ नेवारी भाषा लोप हुने डर बढेपछि भक्तपुरबाट नेपाल भाषाका शिक्षक झिकाएर पहिचानको संरक्षण गरेका रहेछन् यहाँका वासिन्दाले।
 
असजिला र साँघुरा गल्ली यहाँको राजनीतिक चेतको ठिक विपरीत भाषा बोल्छ। राजनीतिक रुपमा निक्कै तिख्‍खर र अगाडि छ पाल्पा। प्रशासनिक क्षेत्रमा यहाँको पहुँच पहिलेदेखि नै हो। राजनीतिक चेतना र विकासका गतिविधिमा यहाँका मानिसहरु कुनै इलिट समाजमा कहलिएकाभन्दा कम देखिन्नन्। शैक्षिक र सामाजिक हैसियतले यहाँका मानिसहरु अब्बल छन्– चेतनाको स्तर पनि उँचो छ।

श्यामसुन्दर कक्षपतिको नाङ्लो वेस्टले पाल्पाको चुकाउनी र हाँसको छोयलाको राम्रो प्रवर्द्धन गरेको छ। पुराना घर मासिएर कंक्रिटका घरहरुले घेरिएको पाल्पको परम्परा जोगाउन नाङ्लो वेस्ट पर्याप्त त होइन तर यसले होस गुमाएको छैन। पुरानो घरमा पलेटी मारेर बस्ने व्यवस्थाले नेवारी संस्कृतिलाई यहाँ जोगाएको छ।
 
पाल्पाली ढाकाका बजारले सधैं यो ठाउँ चिनिएकै हो। माओवादीले ध्वंश पारेको राजा मुकुन्द सेनको दरबार संग्राहलयका रुपमा पुनर्निर्माण भएको छ। सिंगो पाल्पालाई एकै निमेषमा अटाउनेगरी हेर्न भ्यू टावर बनेको रहेछ श्रीनगरमा। सिमेन्टेड अग्लो भ्यू टावरले राजधानीको धरहरालाई झल्को दिएको छ। बनेर पूर्ण रुपमा सञ्चालनमा नआउँदै टावरको फेदको फ्लोरमा परेको चिराले उक्लिनेहरुको सात्तो लिन्छ। धरहरा चढेकै शैलीमा भर्‍याङ बनाइएको यो टावर यहाँको आकर्षण बनेको छ।
  

बाम राजनीतिको बलियो पकड छ यहाँ। त्यसले राजनीतिक चेतनाको स्तर उँभोतिर धकेलेको मान्न सकिन्छ। गैर बामपन्थी दलहरु पनि कम छैनन्। संविधान जारी भएपछि भव्य स्वागतमा उभिएको पाल्पामा दलहरुबीच यसको कार्यान्वयनमा पनि बलियो एकता छ। स्थानीय निकायको पुनर्संरचनाका लागि सबै दल एकमत सहित सुझाव दिन जुट्नुले त्यसको सन्देश दिन्छ। पुनर्संरचना गर्दा सकेसम्म सहज बनाउन सबै राजनीतिक दल सक्रिय भएर लागे र समयमै सुझाव पनि दिए। संविधान कार्यान्वयानमा यहाँका दलहरुमा देखिएको एकता लोभलाग्दो भेटियो।
 
हामी यहाँ पुग्दा जात्रा चलिरहेको थियो। सेना र प्रहरीसहितको टोली झाँकी सहित जात्रामा थिए। जात्रा रहेछ ब्रिटिस फौजलाई हराएको उपलक्ष्यमा आयोजना हुने वार्षिक जात्रा। सन् १८७१ मा भएको युद्धमा श्री ७ रणउज्जेश्वरी भगवतीको पूजाअर्चनासहित अंग्रेजलाई पराजय गर्न सफल भएपछि यो जात्रा थालिएको रहेछ। जात्रा काजी अमर सिंह थापाका नाति कर्णेल उजीरसिंह थापाले चलाउन थालेका रहेछन्। जात्रामा सेना, प्रहरी र प्रशासन नै सक्रिय हुने रहेछ। सञ्चार र अर्थतन्त्रले मुलकुका आयमहरुलाई सीमित गराएको समयमा सैनिक सफलताको दिनलाई सम्झनु आफैंमा रमाइलो विषय थियो। काठमाडौंमा कुनै शासनसत्तालाई जित्न नदिएको उपलक्ष्यमा जात्रा वा पर्व नै मनाउने परम्परा नदेखिएकाले यो जात्रा नौलो लागेको थियो।
 
होटल श्रीनगरको बास आफैंमा सुखद् थियो। कुनै समय अस्पतालका शैयाजस्ता बेडबाट सुरु भएको यो होटल अहिले फुल फ्लेज्ड रुपमा फैलिएको छ। अरु होटल पनि थपिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell