PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

फुटसल लिगको अन्तिम चरणका खेल असोज १० गतेबाट हुने



पहिलोपोस्ट

फुटसल लिगको अन्तिम चरणका खेल असोज १० गतेबाट हुने

काठमाडौं : पहिलो पटक आयोजना भइरहेको रेडबुल फुटसल प्रिमियर लिगको अन्तिम चरणका खेलहरु असोज १० गतेबाट सुरु हुने भएका छन्।
 
एएमए इभेन्टले आयोजना गरेको उक्त प्रतियोगिताको अन्तिम चरणमा १६ टीमले प्रतिस्पर्धा गर्नेछन्। छनोट चरणमा सहभागिता जनाएका ३२ टीममध्ये उत्कृष्ट १६ टीम अन्तिम चरणका लागि छनोट भएका हुन्।
 
उपत्यकाभित्रका १६ फुटसलको सहभागिता रहने अन्तिम चरणका खेलहरु होम एण्ड अवेका आधारमा सञ्चालन हुनेछन्। १६ टीमलाई दुई समूहमा विभाजन गरिएको छ ।
 
समूह ए मा आदर्श फुटसल, बानेश्वर रिक्रियसन सेन्टर, बिजी ब्रदर्स, चउर रिक्रियसन सेन्टर, ढुकु फुटसल हब, हरिसिद्धि फुटसल, हाइवे फुटसल र इम्पोरियल फुटसल छन्। त्यस्तै समूह बी मा किकअफ फुटसल, कीर्तिपुर फुटसल, कुमारी फुटसल, रजनी फुटसल, सामाखुसी फुटसल, शंखमुल फुटसल, ताहाचल फुटसल र ह्वाइटहर्स फुटसलले प्रतिस्पर्धा गर्नेछन्।
 
हरेक टोलीमा १२ जना खेलाडी, एक कोच र एक म्यानेजर रहनेछन्। प्रत्येक टिमले होम ग्राउण्डमा ७ र अवे ग्राउण्डमा ७ गरी कुल १४ खेल खेल्नेछन्।
 
उद्घाटन खेल चउर रिक्रियसन सेन्टर र रजनी फुटसलबीच हुनेछ। त्यसपछि हरेक दिन कम्तीमा दुई खेल सञ्चालन हुने प्रतियोगिता संयोजक विवेक गौतमले जानकारी दिए। दसैं र तिहारको बिचमा भने प्रतियोगिता स्थगित हुनेछ। घटस्थापनादेखि असोज ३० गतेसम्म र तिहारमा लक्ष्मी पूजादेखि छठसम्म प्रतियोगिता स्थगित हुने गौतमले जानकारी गराए।
 
प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले नगद ५ लाख प्राप्त गर्नेछ। त्यस्तै उत्कृष्ट खेलाडी र गोलकिपरले जनही ५० हजार पुरस्कार पाउनेछन्।
 
रेडबुल मुख्य प्रायोजक रहेको प्रतियोगितामा फग बडी स्प्रे सहप्रायोजक रहेको छ।
 
उपत्यकामा ठूला फुटबल मैदानको अभाव भएकाले फुटबलप्रेमीको समेत फुटसलप्रति आकर्षण बढिरहेका बेला यस्ता खाले प्रतियोगिताले खेलाडीलाई झनै प्रोत्साहन गर्ने ‘ए मुभमेन्ट टु एप्रिसियट’(एएमए) इभेन्टका अध्यक्ष अशोक थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell