- रमेश लम्साल
सरकारले नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी एवम् नीजि क्षेत्रका प्रवर्द्धकलाई निर्माणमा रहेका आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न आग्रह गर्दै उक्त लक्ष्य अगाडि सारेको हो।
प्राधिकरणले निर्माण गरिरहेको ३२ मेगावाट क्षमताको चमेलिया र कुलेखानी तेस्रो आयोजनालाई आगामी माघसम्म सम्पन्न गर्ने बताएको छ। कुलेखानी तेस्रो १४ मेगावाट क्षमताको हो।
यस्तै सहायक कम्पनीमार्फत अगाडि बढाइएका आयोजनालाई पनि छिटो सम्पन्न गर्न आवश्यक सहजीकरण गरिनेछ। त्यसमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना प्रमुख रहेको छ। सो आयोजनाको क्षमता ४५६ मेगावाट रहेको छ। आगामी मङ्सिरदेखि बाँधस्थल तथा अन्य भौतिक पूर्वाधारको काम अगाडि बढाइनेछ। भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण प्रभावित भएको सो आयोजनाको निर्माण सुरु भइसकेको छ।
यस्तै चिलिमे जलविद्युत् आयोजनाका सहायक कम्पनीमार्फत अगाडि बढेका साञ्जेन, माथिल्लो साञ्जेन, रसुवागढी आयोजनाको निर्माणलाई पनि गति दिइनेछ।
ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणकै अर्को महत्वपूर्ण आयोजना माथिल्लो त्रिशुली थ्री ए निर्माणमा भइरहेको ढिलाइ छिट्टै अन्त्य हुने र त्यसका लागि आवश्यक पहल गरिएको बताए।
उनले प्राधिरकण र यसका सहायक कम्पनीमार्फत जलविद्युत् आयोजनाबाट ८५० मेगावाट, निजी प्रवर्द्धकबाट ४ सय मेगावाट तथा सौर्य, जैविक लगायत स्रोतबाट २ सय मेगावाट गरी कुल एक हजार ४५० मेगावाट विद्युत् आन्तरिक ग्रीडमा थप गरिने जानकारी दिए।
यस्तै ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत थप ६ सय मेगावाट विद्युत् आयात गरिने सम्झौता यसअघि नै भइसकेको छ। ढल्केबरमा चिनियाँ ठेकेदारले सवस्टेसन निर्माणको काम अगाडि बढाइरहेको छ।
ढल्केबरमा दुई सिफ्टमा काम
ऊर्जामन्त्री शर्माले ढल्केबरमा सवस्टेसन निर्माण प्रक्रियाले गति लिएको बताएका छन्। 'हाल दैनिक दुई सिफ्ट्मा सवस्टेसन निर्माण भइरहेको छ। चिनियाँ ठेकेदारले दैनिक ३ सय बढी मजदुर परिचालन गरिरहेको छ,' उनले भने।सवस्टेसन आगामी मङ्सिर अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सो सवस्टेसन निर्माण सम्पन्न भएपछि भारतबाट थप विद्युत् आयात गर्न सहज हुनेछ। २२० केभी क्षमताको सो सवस्टेसनबाट थप विद्युत् आयात गरिने र मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने सरकारको लक्ष्य छ।
यस्तै ढल्केबर–खिम्ती प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ। आयोजनाको प्रभावकारी अनुगमन भइरहेकाले निर्माणमा रहेका महत्वपूर्ण परियोजना तोकिएको समयमा नै सम्पन्न हुने प्राधिकरणका प्रसारण निर्देशनालयका प्रमुख कन्हैयालाल मानन्धरले बताए।रासस