PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

कान्तिपुर गाथा : ह्विस्किने मूडमा कनिका



किशोर नेपाल

सुदिप्तीको नाममा मुग्लिंग–नारायणगढ सडकको ‘आँखोंदेखा हाल’ डिस्प्याच गरेर कनिका कान्तिपुर फर्किने तयारीमा लागी। त्यसैबेला कल आयो सुदिप्तीको। ‘कहिले फर्किन्छेस्?’ सुदिप्तीले सोधी र भनी ‘तेरो स्टोरी राम्रो छ। रिड काउण्ट वन हण्ड्रेण्ड थाउज्यान्ड पुग्यो। पन्च अझै पुगेन। पन्च पन्च।’

गदगद भै कनिका। डिजिटल जर्नलिज्ममा रीड काउण्टको मतलव राम्ररी बुझेकी थिइ उसले। सुदिप्तीले दोहोर्याएर सोधी, ‘कहिले फर्किन्छेस ? कि त्यतै भेटिस नयाँ व्वाइफ्रेण्ड ?’

कनिकाले भनी, ‘आजै फर्किन्छु। दुई बजेको बसको टिकट ट्राइ गर्दैछु।’

सुदिप्तीले भनी, ‘साउण्ड गुड। आइज आइज। चितवनको गैंडा हेरिस् ?’

कनिकाले सामान्य जवाफ दिइ, ‘कता गैंडा हेर्नु ? बसको टिकट खोज्दैछु।’

फोन डिस्कनेक्ट भयो। ऊ रिसेप्सनमा पुगी र कान्तिपुर फर्किने बसको टिकट मिलाइ दिन भनी।

काउण्टरमा बस्ने केटाले भन्यो, ‘भइहाल्छ नि म्याम। अहिले नै जाने हो ?’

कनिकाको जवाफ नआउँदै उसले टिकट वुक गर्‍यो र भन्यो, ‘हजुुरको काम भयो म्याम, बस अहिले दुई बजे बसपार्कबाट हिंडछ। वाईफाईको व्यवस्था छ। डिलक्स लक्जरी एयर कण्डिसन कोच हो। ज्वारभाटा एक्सप्रेस। आठ बजे कान्तिपुर उतार्छ म्याम। बस्दै गर्नुस। म टिकट लिन पठाइ दिन्छु।’

कनिका दुई बज्नुभन्दा केही मिनटमात्र अघि बसस्टप पुगी। बस स्टार्ट भै सकेको थियो। प्यासेन्जरहरु धकेला–धकेल गरेर बसमा चढदै थिए। मानौं कि बस उनीहरुलाई नबोकी दौडिइ हाल्छ। कनिका सबभन्दा पछाडि वसमा उक्लिइ र आफनो सीट खोज्न थाली। उसको टिकटमा लेखिएको सीटमा एकजना फेसनेवल महिला आफनो ‘ग्रोन अप’बच्चा सहित बसेकी थिइन। उनको बच्चाले आधा सीट कब्जा गरेको थियो र ऊ क्याण्डीक्रस खेल्दै थियो। त्यही बेला वसका कण्डक्टर आइपुग्यो। कनिकाले आफनो सीट सोधी। कण्डक्टरले ती महिला बसेको सिटतिर देखाउँदै जवाफ दियो, ‘यो दुईजनाको सीट हो, मिलेर बस्नुहोस्।’

कनिका त्यो सीटमा अटाउने सम्भावना थिएन। उसले कण्डक्टरसंग भनी, ‘कहाँ बस्ने ? दुईजनाको सीटमा तीनजना अट्छ र ?’

कण्डक्टरले रुखो जवाफ दियो, ‘म्याडम, यो पव्लिक बस हो। प्राइभेट कार होइन। चार वर्ण छत्तीस जातका सबै नेपाली मिलिजुली यात्रा गर्ने हो।’

त्यसपछि उसले कनिकातिर एउटा स्टुल तेर्स्याइ दियो र भन्यो, ‘ल अहिले यसमा बस्दै गर्नोस्। बस हिंडेपछि सीट मिलाइ दिउँला।’

बस समयमा नै हिंड्यो। रामनगरसम्म निकै घुईंकियो। जुगेडी बजारसम्म स्लो भयो। त्यसपछि दासढुंगासम्म घिस्रियो र गुडन छोड्यो। कसैले सोधेन के भो। सबैलाई थाह थियो सडक जाम भो। जाम भएको सडक कतिबेला खुल्छ भन्न सक्ने अवस्थामा कोही थिएन। सडकमा गाडीको ताँती लागिसकेको थियो।

कनिकाले थाह पाइ सकेकी थिइ, उसले आज पनि दुःख पाउने भै। गर्मीले बस तात्न थालेको थियो। मानिसको शरीरको वायु, डिजलको गन्ध र शरीरमा सुगन्ध फैलाउन लगाइने डियोडरेन्टहरु पसिनामा मिसिएपछि आउने दुर्गन्धले सफोकेशन भएको थियो बसमा। कनिका त्यो सफोकेशनबाट बच्न आफनो रुक्स्याक सहित बाहिर बसबाट बाहिर निस्किइ। ऊ नजिकको कोल्ड स्टोरतिर लागी। उसलाई हेरिरहेको एउटा केटोले उसले सुन्ने गरी नै रिमार्क ठोकी हाल्यो, ‘आह च्वाँक !’

कनिका केही बोलिन। कोल्ड स्टोरमा लागेको भीड छिचल्दै उ काउण्टरनिर पुगी। पसलेले सोध्यो, ‘के दिउँ हजुरलाई ?’ कनिकाले चीसो कोक माँगी। पसलेले आफनो फ्रिजमा भएका भर्खर चिसिन लागेका वोत्तलहरुमध्ये एउटा अलि बढी चिसो कोक छान्यो र कनिकालाई दिंदै भन्यो, ‘यो भन्दा चीसो त छैन मैसाव। यता कहिल्यै राम्रोसित लाइन नै आउँदैन। एक घण्टा आउँछ सात घण्टा जान्छ।’

कनिकाले एक घण्टा र सात घण्टाको हिसाब बुझिन। उसलाई बुझ्नु पनि थिएन। उसले आफनो व्यागबाट सिगरेट निकाली र तान्न थाली।

महिलाले सिगरेट तान्नु यतातिरका लागि कुनै अनौठो थिएन। तर, कनिकाले सिगरेट तान्नु अनौठो र अस्वाभाविक घटना बन्यो। छेउछाउका मानिस उसलाई कर्के आँखाले हेर्न थाले। मानौं कि उनीहरुको वरपर कुनै अनहोनी कुरा भएको छ। संशय पनि उव्जियो होला मानिसको मनमा। एक्ली केटी कोकको वोत्तल हातमा लिएर सिगरेट तान्दैछ। विदेशी भएको भए अर्कै कुरा हुन्थ्यो। यो त नेपाली नै हो। अघि नेपाली नै बोल्दै थिइ। अर्काको कुरा काट्नु र कसैले आफूलाई नजच्ने केही काम गर्‍यो भने कमेन्ट ठोक्नु त नेपालीको आदत नै हो। अझ, महिलाले त केही गर्नै हुँदैन। अनौठो भै हाल्छ। कनिकाले आफू वरिपरि घुमेका भावहरु नबुझेकी थिइन। कसैले केही रियाक्ट गरेको भए उ पडकिन्थी होला। तै, त्यहाँ कसैले केही बोल्ने साहस गरेन।

तीन त बजिसकेको थियो। चार, पाँच र छ बजेसम्म पनि जाम खुल्ने लक्षण नदेखेपछि कनिकाले नारायणघाट फर्किने निधो गरी। तर, फर्किने कसरी? जाम छिचल्दै एक दुईवटा  मोटरसाइकिल आइ रहेका थिए। उसले एउटा मोटरसाइकिललाई रोक्ने इशारा गरी। मोटर साइकिल रोकिएपछि उसले आफनो समस्या बताइ। मोटरसाइकिलवाला उसको कथा सुनेर द्रवित भएको थिएन। एउटी मस्तकी केटीलाई आफनो मोटर साइकिलमा राखेर गुडाउन पाएकोमा खुशी थियो।

केही बेरपछि कनिका नारायणघाट बजारमा थिइ। उसले मोटरसाइकिलवालालाई धन्यवाद दिइ र होटलतिर जान इ–रिक्सा समाती।
 
नारायणघाटको जलवायु उसलाई फापेको थियो। होटल पुगेर उ व्हिस्किने मूडमा थिइ।


(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)


यो सिरिजका अन्य गाथा-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell