PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

जब विदेशी पर्यटक बन्छन् प्रहरीको टाउको दुखाइ



सविन ढकाल

जब विदेशी पर्यटक बन्छन् प्रहरीको टाउको दुखाइ

काठमाडौँ : पर्यटन प्रवर्द्धन सरकारको प्राथमिकताको विषय हो। त्यसैले विदेशी पर्यटकका लागि नेपाल प्रवेश सहज छ। तर यही सहजताको फाइदा उठाउँदै जब गुणस्तरीय पर्यटक आउनुको साटो बेखर्ची र मानसिक सन्तुलन गुमाएका पर्यटकहरु यहाँ आइपुग्छन्, प्रहरीको लागि टाउको दुखाइ बन्न पुग्छ। 

केही दिनअघि मात्र पर्यटक प्रहरीले १० वर्ष अघिदेखि मानसिक सन्तुलन गुमाएर राजधानीको सडकमा दिन र रात कटाइरहेका एक विदेशीलाई उद्दार गरी पराष्ट्र मन्त्रालयलाई जिम्मा लगाएको थियो। 

१० वर्षदेखि काठमाडौको भद्रकाली, रत्नपार्क, घण्टाघर छेउछाउमा मानसिक सन्तुलन गुमाएर घुम्दै आएका उनको नाम र देश भने पत्ता लाग्न सकेको थिएन। पर्यटक प्रहरीका सहायक निरीक्षक सन्तोष न्यौपानेले पहिलोपोस्टलाई भने, '१० वर्षदेखि यी विदेशी यसरी नै सडकमा नै जीवन बिताइरहेका थिए। हामीले ल्याएर कपाल काटेर लुगा फेरिदिएर परराष्ट्रमा बुझाएका हौँ।' 

विमानस्थलमा मै दिइने अन अराइभल भिसासहित सहज प्रवेशका कारण अहिले नेपाल घुम्न आउने पर्यटकको सङख्या बढेसँगै प्रहरीका लागि यस्ता समस्या थपिँदै आएका छन्।

 देशमा वर्षेनी ८ देखि १० जना विदेशी बेखर्ची र मानसिक सन्तुलन गुमाएर राजधानीका सडक गल्लीमा नै घुमिरहेको प्रहरीको तथ्याङकले देखाउँछ। 

विक्रम संवत् २०७१ साल यता २२ जना बेर्खची र मानसिक सन्तुलन गुमाएका विदेशीको उद्धार गरेको पर्यटक प्रहरीको तथ्याङकमा रहेको छ। पर्यटक भिसामा देश घुम्न आएका मध्ये केही पर्यटकले नेपालीहरुलाई नराम्रोसँग ठगेर पनि जाने गरेका छन्। 

पर्यटकहरुले आफू बसेको होटलको बिल नतिर्ने, सामान किनेर पैसा नदिने, नेपालीलाई बिहे गर्छु भनेर शोषण गर्ने जस्ता घटनाहरु रहेका छन्। पर्यटक प्रहरीमा महिनामा तीनदेखि चार वटा उजुरी विदेशी पर्यटकले ठगी गरेको भन्दै पर्ने गरेको छ। 

पाटनका एक मूर्ति व्यापारी पनि चिनियाँ पर्यटकले ठगी गरेको भन्दै उजुरी दिन पर्यटक प्रहरीमा पुगेका थिए।  

ती चिनियाँ पर्यटकले पटक-पटक नेपाल आउने गरेको र उनकै पसलबाट मूर्ति लग्ने गरेका थिए। धेरै पटक मूर्ति लगेपछि उनले विश्वासमा नै यसपटक ८ लाख बराबरको मूर्ति दिए। तर उनले रकम पाएनन्। पछि बुझ्दै जाँदा उही पर्यटकले अन्य ३० जना व्यापारीबाट करोडौको मूर्ति उधारो लगेका रहेछन्। 

त्यसो त विदेशीहरु नेपाल घुम्न आउँदा नेपालीहरुले दिने दुःख पनि कम छैन। पर्यटकको सामान चोरी गर्ने, महिलालाई दुर्व्यवहार गर्ने, ठगी गर्ने घटना पनि रहेका छन्। 

तर पछिल्लो वर्षमा भएको उजुरी हेर्ने हो भने अहिले पर्यटकले सास्ती पाएको भन्दै आउने उजुरी घटेको छ। आर्थिक वर्ष ७०/७१ मा ९८४ वटा उजुरी आफू ठगिएको भन्दै पर्यटकले दिएका थिए। 

आर्थिक वर्ष ७१/७२ मा यो सङख्या घटेर ८६१ पुगेको थियो। ७२/७३ मा झनै ५७१ वटा मात्र उजुरी परेको पर्यटक प्रहरी, भृकुटीमण्डपले जानकारी दिएको छ। 

पर्यटकको सुरक्षा र सुविधाको लागि देशभर नेपाल प्रहरीको पर्यटक प्रहरीमा २२७  दरबन्दी रहेको छ। उपत्यकामा ९९ जना पर्यटक प्रहरी र देशबाहिरका ११ बटा जिल्लामा १२८ प्रहरी कार्यरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell