
लियोनेल मेसी, लुइस स्वारेज र नेमारले पुन एक पटक उत्कृष्ट प्रदर्शन गरेपछि स्पानिस ला लिगामा बार्सिलोनाले शानदार जित हात पारेको छ।
लिगको अघिल्लो खेलमा नवप्रवेशी अलाभेससँग पराजित भएपछि आलोचित बनेको बार्सिलोनाले अर्को नवप्रवेशी लेगानेसलाई ५-१ ले हरायो।
बार्सिलोनाको जितमा मेसीले २ गोल गरे भने स्वारेज, नेमार र रफिन्नाले १/१ गोल गरे।
अवे जितसँगै ४ खेलबाट ९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लेको छ। एक खेल कम खेलेको रियल मड्रिड समान अंक भएपनि गोल अन्तरमा दोस्रो स्थानमा छ।
अर्को खेलमा एथ्लेटिको मड्रिडले स्पोर्टिङ गिहोनलाई ५-० ले हरायो। एथ्लेटिकोको जितमा एन्टोनिया ग्रिजमन र फर्नान्डो टोरेसले २/२ गोल गरे। केभिन गमेइरोले १ गोल गरे। जितपछि ४ खेलबाट ८ अंक जोडेको एथ्लेटिको चौथो स्थानमा उक्लेको छ।
ला लिगाकै अन्य खेलमा लस पलमसले मालागालाई १-० ले पराजित गरेको छ। पलमसको जितमा मोलेले निर्णायक गोल गरे। जितस्रँगै ४ खेलका ९ अंक नै जोडेको पलमस तेस्रो स्थानमा छ।
आइबर र सेभियाले भने १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।