
म्यानहल्टनको भिडमा भएको शनिबार राति विस्फोट हुँदा २९ जना घाइते भएका छन्। खराब नियतले विस्फोट गराइएको भए पनि यसको आतंकवादीसँग नाता नरहेको त्यहाँका मेयरले जनाएका छन्।
विस्फोटको तीन घन्टाभन्दा पनि कम समयमा अर्को स्थानमा अज्ञात वस्तु देखिएको छ जसलाई सम्भावित विस्फोट भन्दै यातायात रोक्का गरिएको छ। प्रेसर कुकर बम हुनसक्ने भएकाले घेराउ गरिएको हो।
विस्फोट राति ८:३० बजे चेल्सीको वेस्ट ३२ स्ट्रिट अन्तर्गतको सिक्थ र सेभेन्थ एभेन्युजमा भएको हो। यहाँ घाइते भएका कोही पनि खराब अवस्थमा छैनन्।
'यो घटनामा आतंकवादीको कुनै संलग्नता रहेको पाइएको छैन,' मेयर विल डे व्लासियोले पत्रकारहरुलाई भने, 'यद्यपि यो प्रारम्भिक विवरणमात्र हो। घटना नियोजित देखिएको भने सत्य हो।'