
वासिङ्टन : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवसका उपलक्ष्यमा आज राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली जनतालाई बधाई ज्ञापन गरेका छन्। नेपालका राष्ट्रपतिलाई पठाइएको सन्देश यस प्रकार छ :
प्रिय राष्ट्रपतिज्यू, :
यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा तपाईँ र नेपाली जनताहरूलाई बधाई ज्ञापन गर्न पाए मलाई खुशी लागेको छ। संयुक्त राज्य अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएकोमा समेत मलाई गौरवानुभूति भएको छ।
तपाईँको देशमा विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको छ र त्यस विपद्मा आफ्ना प्रियजन गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेका छन्। त्यस शोकका बीच पनि नेपालको भविष्यका लागि ठूलो आशा रहेको छ। दु:खद घटनालाई उज्ज्वल भविष्यको कामनाको बीचमा आउन नदिने यात्रामा हामी तपाईँ र सारा नेपालीहरूको साथमा छौँ। आफ्ना घर र जीवनहरू पुनर्निर्माण गरेका नेपालीहरूको बलको संयुक्त राज्य अमेरिकाले सधैँ प्रशंसा गरिरहनेछ र यस प्रयत्नमा तपाईँहरूलाई सहयोग गर्नका लागि हामी आफूले सक्ने सबथोक गरिरहने नै छौँ।
यस शुभ अवसरमा म तपाईँलाई के आश्वासन दिन चाहन्छु भने संयुक्त राज्य अमेरिका हामीबीचको सम्बन्धलाई अघि बढाउन र समुज्ज्वल भविष्यको उपलब्धिमा नेपाललाई सहयोग गर्नका लागि प्रतिबद्ध छ। नेपालको जलविद्युत् सम्भावनाको वृद्धि, पूर्वाधार विकास र दु:खद द्वन्द्वबाट प्रभावित सबैका लागि न्यायको खोजी लगायतका उपलब्धिमा मद्दत गर्ने हाम्रो प्रतिबद्धता रहेको छ।
फेरि पनि म तपाईँ र सारा नेपालीहरूलाई यस विशेष दिवसको उपलक्ष्यमा बधाईज्ञापन गर्दछु। लोकतन्त्रहरूले प्राकृतिक सम्बन्ध स्थापना गर्दछन् र आगामी वर्षहरूमा हामी त्यस सम्बन्धलाई प्रगाढ बनाउन चाहन्छौँ।