काठमाडौँ : लोकसेवा आयोगले प्रशासन सेवातर्फ सहसचिवको परीक्षाको पाठ्यक्रम परिमार्जन गरेको छ।
आयोगले समयक्रमअनुसार परीक्षा प्रणालीलाई व्यवस्थित बनाउनका लागि सहसचिव तहको खुला र आन्तरिक प्रतियोगिताको पाठ्यक्रम परिमार्जन गरेको आयोगका सूचना अधिकारी गीता हुमागाइँले जानकारी गराइन्।
उनका अनुसार आयोगले लिखित, कौशल/गुणमापक र अन्तर्वार्ता गरी तीन चरणमा पाठ्यक्रम बनाएको छ। यसअघि लिखित र अन्तर्वार्ता परीक्षा मात्र राखिएको थियो। परिमार्जित पाठ्यक्रम यसै आवदेखि लागू गरिने उनले बताइन्।
परिमार्जित पाठ्यक्रममा उम्मेदवारको कौशल/गुणमापक परीक्षणका लागि सय पूर्णाङ्क थपिएको छ, जसमा उम्मेदवारलाई लिखित अभ्यास र प्रस्तुतीकरण गराइने उनले बताइन्।
सूचना अधिकारी हुमागाइँले संशोधित पाठ्यक्रमअनुसार नमुना प्रश्नपत्र बन्दै गरेको जानकारी गराइन्। उनका अनुसार अन्य तहको पनि क्रमशः परिमार्जन गर्दै लगिनेछ। रासस