काठमाडौँ : सभामुख ओनसरी घर्तीले संविधानमा समय सापेक्ष जनताका भावना र आकांक्षालाइ समेट्दै समृद्ध र व्यापक बनाउँदै लैजानुपर्ने बताएकी छिन्।
संसद सचिवालयले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सभामुख घर्तीले संविधान गतिशिल दस्तावेज भएको उल्लेख गर्दै संविधान निर्माण भन्दा प्रभावकारी कार्यान्वयन कठिन कार्य भएको बताइन्।
‘संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तीको आन्दोलनमा सँगै होमिएका राजनीतिक शक्तिहरुले आपसमा मिलेर नै यो समस्या छिटो समाधान गर्नेछन् भन्ने मैले विश्वास लिएको छु’, उनले भनिन्।
राष्ट्रपतिको उपस्थितिमा संसद भवनमा भएको कार्यक्रममा सभामुख घर्तीले संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयकहरु सरकारले संसदमा छिट्टै पेश गर्ने विश्वास लिएको बताइन्।
उनले आउँदो २०७४ साल माघ ७ गतेसम्म तीन वटा निर्वाचन गर्नुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्र प्रतिको जिम्मेवारी पूरा गर्ने तर्फ राजनीतिक दलहरु एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता समेत औँल्याइन्।