PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​एनभीए क्लब भलिबल : न्युडायमण्ड र पुलिस फाइनलमा भिड्ने, एपीएफको दुवै टोली सेमिफाइनलबाटै आउट



पहिलोपोस्ट

​एनभीए क्लब भलिबल : न्युडायमण्ड र पुलिस फाइनलमा भिड्ने, एपीएफको दुवै टोली सेमिफाइनलबाटै आउट

काठमाडौं : न्युडायमण्ड एकेडेमी  र नेपाल पुलिस क्लब तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन्। 

आइतबार भएको सेमिफाइनलमा न्युडायमण्ड शसस्त्र प्रहरीको एपीएफ र पुलिस पश्चिमाञ्चलको टप्सलाई हराउँदै फाइनल पुगेका हुन्। 

राष्ट्रिय खेलकुद परिषद् राखेपको कबर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा न्युडायमण्डले एपीएफलाई ३–० को सेटमा पराजित गरेको हो। न्युडायमण्डले एपीएफलाई २५–२२, २५–२२ र २५–२३ को सेटमा हरायो।

न्यु डायमण्डलाई जिताउन प्रतिभा मालीले स्पाइकबाट ३०, ब्लकमा २ र सर्भिसबाट २ अंक गरी कुल ३४ अंक बटुलिन्। त्यसैगरी पनामिका राईले स्पाइकबाट ५ अंक बटुलिन। एपीएफकी सरस्वती चौधरीले स्पाइकबाट १४ अंक तथा उषा विष्टले स्पाइकबाट ११ अंक बटुलिन्।

केहि समयअघि पोखराको लामाचौरमा भएको राष्ट्रिय महिला भलिबलमा न्युडायमण्डले एपीएफलाई नै हराउँदै उपाधि जितेको थियो। सोही प्रदर्शनलाई दोहोर्याउँदै न्युडायमण्डले फाइनल यात्रा तय गरेको हो।

दोस्रो सेमिफाइनलमा पुलिसले पश्चिमाञ्चललाई ३–० कै सेटमा पराजित गर्यो। पहिलो सेटमा पश्चिमाञ्चलले कठा टककर दिएपनि पुलिसले २७–२५ ले आफ्नो पक्षमा पार्यो। त्यसपछिका दुई सेटमा भने पुलिस सहजै विजयी भयो। पुलिसले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१६ ले जित्दै न्युडायमण्डसँगको फाइनल भेट पक्का गरेको हो।

पुलिसकी कोपिला उप्रेतीले स्पाइकबाट १७ अंक बटुलिन भने चुडा खड्काले स्पाइकबाट १०, ब्लकमा २ र सर्भिसबाट २ गरी  कुल १४ अंक बटुलिन्। टप्स पश्चिमाञ्चलकी मञ्जु गुरुङले स्पाइकबाट १७ र अरुणा शाहीले स्पाइकबाट १० र सर्भिसबाट एक अंक बटुलिन्।


महिलातर्फ एपीएफ सेमिफाइनलमा हारेकै दिन एपीएफको पुरुष टोली पनि सेमिफाइनलबाटै बाहिरिएको छ। आइतबारै भएको पुरुषको पहिलो सेमिफाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले एपीएफलाई ३–० को सोझो सेटमा हरायो। क्वाटरफाइनलमा अर्को विभागिय क्लब पुलिस विरुद्ध प्रतिस्पर्धात्मक जित हासिल गरेको हेल्प नेपालले एपीएफलाई भने सहजै हरायो। हेल्प नेपालले एपीएफलाई २५–२०, २५–१४ र २५–२१ को सेटमा पराजित गरेको हो।

भारतीय खेलाडीको बाहुल्यता रहेको हेल्प नेपालका लागि सुवे सिंहले स्पाइकबाट १०, ब्लकमा ८ र सर्भिसमा ३ गरी कुल २१ अंक बटुले भने शुभम् चौधरीले स्पाइकबाट १४ र ब्लकबाट ३ गरी  कुल १७ अंक बटुल जोडे। एपीएफका मिलन मल्ले स्पाइकबाट ७ अंक जोड्नु बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। 

आइतबारै सम्पन्न अन्तिम सेमिफाइनल खेलमा नेपाली सेनाले पश्चिमाञ्चललाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा हेल्प नेपालसंगको भेट पक्का गरेको छ। प्रतिस्पर्धात्मक पहिलो सेट २९–२७ ले जितेको सेनाले दोस्रो सेट १५–२५ ले गुमायो। तर त्यसपछिका दुई सेट २५–१५ र २५–१७ ले आफ्नो पक्षमा पार्दै सेना उपाधि नजिक पुगेको हो।

सोमबार तेस्रो स्थानको खेल विहान ८ बजे र १० बजे हुनेछ भने फाइनल खेल महिलाको १ बजे र पुरुषको ३ बजे हुनेछ। 

नेपाल भलिबल संघको आयोजनामा भएको लिगकम नकआउटका प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता जनाएका थिए। प्रतियोगिताको पुरुष तथा महिलातर्फको उपाधि बिजेताले ट्रफीसहित १ लाख २५ हजार रुपैयाँ र उपविजेताले ७० हजार रुपैयाँ प्राप्त गर्ने छन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell