PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

प्रधानमन्त्री प्रचण्डको अमेरिका यात्रा रद्द, मधेसवादी दल रिझाउने प्रयास



रमेश वाग्ले

प्रधानमन्त्री प्रचण्डको अमेरिका यात्रा रद्द, मधेसवादी दल रिझाउने प्रयास

काठमाडौं : सोमबार अमेरिका जाने कार्यसूचीलाई प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थगित गरेका छन्। भारत भ्रमण सकेर आजै नेपाल फर्केका प्रधानमन्त्री भोलि सोमबार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने तय थियो।

'लामो समय विदेश रहँदा देशभित्रका महत्वपूर्ण विषयहरु निर्णयहीन अवस्थामा रहने भएकाले अमेरिका भ्रमण रद्द गर्ने बताउनुभएको थियो,' उप प्रधानमन्त्री विमलेन्द्र निधिले भ्रमण रद्धबारे पहिलोपोस्टलाई जानकारी दिँदै भने, 'राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री जाँदा हुने भएकाले प्रधानमन्त्रीले भ्रमण क्यान्सिल गर्नुभएको हो।'

प्रधानमन्त्रीले राष्ट्रसंघको ७१ औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम थियो। सम्बोधन अब परराष्ट्रमन्त्री प्रकाशशरण महतले गर्नेछन्। प्रधानमन्त्रीसँगै दिल्ली गएका महत उतैबाट अमेरिका गइसकेका छन्।

मधेसवादी दलहरुले यसअघि नै प्रधानमन्त्रीको अमेरिका यात्रामाथि प्रश्न उठाउँदै आएका थिए। उनीहरुले प्रधानमन्त्रीलाई रोक्ने बताउँदै आएका थिए। संविधान संशोधनबाट असन्तुष्ट रहेका मधेसवादी दललाई संविधानमा सहमत गराउने दायित्व प्रधानमन्त्री प्रचण्डसामु रहँदै आएको छ।   

प्रधानमन्त्रीको कार्यालयले भ्रमण रद्द बारे यस्तो विज्ञप्ति पठाएको छ-

मधेशी, थारु, जनजातिका प्रतिनिधि लगायत आन्दोलनरत दलहरुले अहिले विदेश भ्रमण गर्नुभन्दा प्रधानमन्त्रीले उनीहरुका समस्या सम्बोधनमा ध्यान दिनुपर्छ भन्ने आवाज उठाएको वर्तमान अवस्थामा विदेश भ्रमण होइन, संविधान कार्यान्वयन र पूनर्निर्माणका काममा प्रधानमन्त्री लाग्नुपर्छ भन्ने जनआवाज आएको सन्दर्भलाई विचार गरेर देशभित्रकै समस्यालाई समाधानमा ध्यान केन्द्रित गर्ने उद्धेश्यले जनआवाजलाई समेत ख्याल गरेर संयुक्त राष्ट्र संघको ७१ औं साधारण सभामा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाग लिन जाने कार्यक्रम रद्द गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell