PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

संविधानको कार्यान्वयनमा मन, वचन र कर्मले लाग्न राजनीतिक दललाई राष्ट्रपतिको आह्वान



पहिलोपोस्ट

संविधानको कार्यान्वयनमा मन, वचन र कर्मले लाग्न राजनीतिक दललाई राष्ट्रपतिको आह्वान

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दललाई आव्हान गरेकी छिन्।  

राष्ट्रपति भण्डारीले देशवासीको नाममा सन्देश दिँदै नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिका कामना गरेकी छिन्। त्यस्तै 'देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस्' भनी  कामना समेत गरेकी छिन्। 
 
आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत, समृद्ध, न्यायपूर्ण, सन्तुलित र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत र बहुआयामिक विकासका लागि अघि बढ्न थप प्रेरणा दिनुपर्ने भन्दै यसप्रति सबै नेपाली कृत्सङ्कल्पित हुनुपर्ने सन्देशमा उल्लेख छ । 


नेपाली जनताले पटकपटक गरेका विभिन्न आन्दोलनपछि प्राप्त नेपालको संविधान, २०७२ ले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी सबै तह, तप्का, वर्ग, क्षेत्रका जनताको हक अधिकार प्रत्याभूत गरेको राष्ट्रपतिले सन्देशमा भनेकी छिन्। 

सन्देशमा भनिएको छ– ‘संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाई समृद्ध नेपालको सपना बोकी देशको भाग्य र भविष्य आफैँ निर्धारण गर्ने अभिभारा हामी सबैमाझ सुम्पेको छ।’
 
संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सन्देशमा उल्लेख छ। 

सन्देशमा भनिएको छ–‘राजनीतिक अधिकार सुनिश्चित भएको वर्तमान परिप्रेक्षमा सिङ्गो मुलुक आन्तरिक स्रोत र साधनको अतिरिक्त बाह्य सहयोगसमेतको अत्याधिक सदुपयोग गर्दै कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, वृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रबद्र्धनमा केन्द्रित हुनुपर्दछ।’ रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell