
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधानको दोश्रो पटक संशोधनका लागि लागिपरेको बताएका छन्।
संविधान दिवसको टुँडिखेलमा भएको औपचारिक कर्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधानको स्वीकार्यता फराकिलो बनाउनका लागि संविधान संशोधन गर्न लागिएको समेत प्रष्ट पारे।
'एकचोटि यसका महत्वपूर्ण अंशमा संशोधन भैसकेको छ भने सरकार अर्को संशोधनका लागि गंभीरतापूर्वक लागि परेको यँहाहरुलाई विदितै छ। उक्त संशोधनबाट मधेशी, थारु, आदिवासी जनजाति लगायत समुदायका गुनासाहरुको यथोचित संबोधन भै संविधानको स्वीकार्यता अझ फराकिलो हुने हुँदा यसको पूर्ण कार्यान्वयनले गति लिने विश्वास लिएको छु', प्रचण्डले भने।
'हामी सबैलाई थाहा छ यो संविधान नेपालको इतिहासको विशिष्ट परिस्थितिमा जारी गर्नुपरेको थियो। संविधानमा मधेशी, थारु, जनजाति लगायतका कतिपय समुदायका कतिपय जायज माग र आकाक्षांहरुलाई समावेश गर्न सकिएको छैन', उनले भने।
उनले विश्वका कुनैपनि संविधान एकैचोटी पूर्ण हुन नसक्ने उदाहरण प्रस्तुत गर्दै जनताको आकांक्षा अनुसार संशोधन गर्दै जानुपर्ने बताए।
प्रचण्डले मधेसी मोर्चा र गठबन्धनका माग अनुसार मधेसमा भएको आन्दोलनका घाईतेलाइ उपचार र मृतकलाइ सहिद घोषणा गर्ने काम भएको बताए।
त्यस्तै प्रचण्डले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन २०७४ को माघ ७ गतेसम्म गरिसक्नुपर्ने बाध्यताबारे समेत जानकार रहेको उल्लेख गरे। उनले निर्वाचनका लागि स्थानिय तहको संरचना भइरहेको र निर्वाचन आयोगसँग सरकार परामर्शमा रहेको बताए।