PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

पहिरोले पुरिँदा बागलुङमा एकै परिवारका चारको मृत्यु, म्याग्दीका ३४ घर जोखिममा



पहिलोपोस्ट

पहिरोले पुरिँदा बागलुङमा एकै परिवारका चारको मृत्यु, म्याग्दीका ३४ घर जोखिममा

बागलुङ : घरमाथिबाट खसेको पहिरोमा परी बुङ्गादोभान–४ रिङ्लाङस्थित एकै परिवारका चार जनाको मृत्यु भएको छ। 

गएराति खसेको पहिरोमा परी गङ्गाधर रोकाकी ३८ वर्षीया श्रीमती भीमकुमारी, १४ वर्षीया छोरी इन्द्रकुमारी, १२ वर्षीय छोरा इन्द्रजीत र नौ वर्षीया छोरी मायादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

ठूलो ढुङ्गासहित खसेको पहिरोले रोकाको घर पूर्ण रुपमा क्षति भएको छ। उद्धार र घटनाको अनुसन्धानका लागि बुङ्गादोभान प्रहरी चौकी र इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी खटिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए। 

रोकाको घरमा रहेका ३० भन्दा बढी कुखुरा पनि पहिरोमा परी नष्ट भएको प्रहरीले जनाएको छ।


बेगखोलाका ३४ परिवार विस्थापित

उता म्याग्दीको बेगखोला गाविसको बाँसबोट, लिस्ने र भजनी गाउँमा खसेको पहिरोका कारण ३४ घरपरिवार विस्थापित भएका छन्। 

शुक्रबार र शनिबार राति परेको अविरल वर्षासँगै जमिन धाँजा फाटेर बग्न थालेपछि तीन गाउँका ३४ परिवार विस्थापित हुनाका साथै थप ११ घर पहिरोको उच्च जोखिममा परेका छन्। 

गाउँको दुवैतिरबाट पहिरो खसेर जमिन बगेपछि पीडितलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोका कारण जोखिममा परेको वस्तीलाई रेडक्रस, पत्रकार, प्रहरी र स्थानीयवासीको सहयोगमा गाविस भवनमा सारिएको स्थानीय युवा विमल फगामीले बताए। 

विस्थापित परिवारलाई जिल्ला रेडक्रस शाखामार्फत कम्बल, त्रिपाल र ब्लाङ्केट उपलब्ध गराइएको छ। 

गत भदौ दोस्रो सातादेखि नै बेगखोलाको बाँसबोट र लिस्ने गाउँमा पहिरो झर्न थालेको थियो। प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले गाउँको दुवैतिरबाट पहिरो झरे पनि हालसम्म कुनै मानवीय क्षति नभएको बताए।

बाढीले बेनी–जोमसोम सडक बगाएपछि मुस्ताङको स्याउ ढुवानी, सोह्रश्राद्धका तीर्थयात्री, पर्यटक, कर्मचारी र सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। बाढीका कारण वारपार गर्न समस्यामा परेका सर्वसाधारणलाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र स्थानीयको सहयोगमा आवतजावत गराएको छ। 

त्यसैगरी अवरुद्ध सडक खुलाउन र बाढी पन्छाउन सडक विभागको डोजर परिचालन गरिएको छ। गत भदौ १६ गते मध्यरातमा बेगखोलाको ठाडोखोलामा आएको बाढीले ११ घरसहित बेनी–जोमसोम जोड्ने सडकको बेगखोलामाथिको पक्की पुल र झोलुङ्गे पुल बगाएको थियो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell