
रियल मड्रिडले स्पानिस ला लिगामा लगातार चौथो जित हात पार्दा भ्यालेन्सियाले भने लगातार चौथो हार आत्मसात गरेको छ।
नयाँ सिजनमा शतप्रतिशत जित निकाल्ने क्रममा रियलले गएराति भएको खेलमा स्पानयोललाई उसैको मैदानमा २-० ले हरायो। रियलको जितमा जेम्स रोड्रिग्वेज र करिम बेन्जामाले १-१ गोल गरे।
यता भियारियलले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको रियल सोसिडाडलाई २-१ ले हराएको छ। अलेक्जान्डर पाटो पेनाल्टीमा गोल गर्न असफल भएपनि ३ मिनेटको अन्तरमा निकोला सानसोनले २ गोल गर्दै भियारियाललाई २-० को अग्रता दिलाएका थिए।
युरी बेर्चिचले सोसिडाडका लागि १ गोल फर्काए। खेलको अन्त्यतिर जोसेफा जालडुवाले दोहोरो पहेँलो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि सोसिडाड १० खेलाडीमा झरेको थियो।
गएराति नै भएको खेलमा भ्यालोन्सिया १ गोलको अग्रता लिएर पनि एथ्लेटिक विल्वाओसँग २-१ ले पराजित भएको छ। अल्भारो मेड्रनले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए पनि अरिट्ज अड्रिजले २ गोल गर्दै विलवाओलाई जिताए।
ला लिगामा लगातार चौथो हार बेहोर्दै अंकविहीन रहेको भ्यालेन्सिया लिगको अन्तिम स्थानमा छ। भ्यालेन्सियाभन्दा अगाडि रहेका ओसासुना र सेल्टाभिगोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।