
टोटनहम हट्सपरले प्रिमियर लिगमा अपराजित यात्रालाई कायमै राखेको छ। लिग अन्तर्गत आइतबार भएको खेलमा टोटनहमले सण्डरल्याण्डलाई १-० ले हरायो।
टोटनहमलाई जित दिलाउन ५९ औं मिनेटमा ह्यारी केनले निर्णायक गोल गरे। एडनान जानुजायीले दोहोरो पहेँलो कार्डको सामना गरेपछि खेलको अन्त्यतिर सण्डलरल्याण्ड १० खेलाडीमा झरेको थियो।
जितपछि ५ खेलबाट ११ अंक जोडेको टोटनहम तेस्रो स्थानमा उक्लेको छ।
आइतबारै भएको अन्य खेलहरुमा क्रिस्टल प्यालेस र साउदहयाम्पटन पनि विजयी भएका छन्। प्यालेसले आफ्नै मैदानमा भएको खेलमा स्टोक सिटीलाई ४-१ गोल अन्तरले हरायो। उसको जितमा जेम्स टमकिन्स, स्कट डान, जेम्स म्याकआर्थर र आन्ड्रोनस टाउनसेण्डले १-१ गोल गरे।
यता साउदह्याम्पटनले लिगमा सिजनको पहिलो जित हात पारेको छ। यसअघि २ खेलमा बराबरी र २ खेलमा हारको नतिजा निकालेको साउदह्याम्पटनले स्वान्सी सिटीलाई १-० ले पराजित गरेको छ। साउदह्याम्पटनको जितमा चार्ली अस्टिनले निर्णयक गोल गरे।