काठमाडौं : जनवादी गणतन्त्र चीनको गाम्सु प्रान्तमा हुने ‘सिल्क रोड इन्टरनेसनल कल्चर एक्स्पो’मा सभामुख ओनसरी घर्तीले भाग लिने भएकी छिन्। त्यसका लागि उनी गएराति नै चीन प्रस्थान गरिन्।
असोज ४ र ५ गते हुने सो एक्स्पोमा भाग लिन सभामुख घर्तीको नेतृत्वमा आठ सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ गएको हो।
सो एक्स्पो पछि उनले असोज ६ र ७ गते चीनको युनान प्रान्तको समेत भ्रमण गर्ने कार्यतालिका रहेको व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए।
सभामुख घर्तीका साथ नेकपा (माओवादी केन्द्र)का नेता एवम् उनका पति वर्षमान पुन, सचिवालयका महासचिव मनोहर भट्टराईलगायत छन्। उनी असोज ८ गते स्वदेश फर्कनेछिन्। (फोटो : रासस फाइल)