PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

लोकसेवाले खुलाउने विज्ञापनबाट वार्षिक १८ करोड आम्दानी, आयोगको खर्च कति?



पहिलोपोस्ट

लोकसेवाले खुलाउने विज्ञापनबाट वार्षिक १८ करोड आम्दानी, आयोगको खर्च कति?

काठमाडौं : लोकसेवा आयोगमा सरकारी सेवातर्फको आवेदन दिनेको सङ्ख्या माग गरेको भन्दा कैयौं गुणा दरखास्त दिनेको सङ्ख्या बढ्ने गरेको पाइएको छ।
 
आयोगले माग गरेको भन्दा सङ्ख्याको अनुपातमा धेरै नै आवेदन दिने गरेको आयोगकी सूचना अधिकारी गीता हुमागाईंले जानकारी दिइन्।
 
उनका अनुसार गतवर्ष ५ हजार ८१२ माग गरिएकामा ४ लाख ४३ हजार ७४१ जनाले आवेदन फाराम भरेका थिए।
 
उनका अनुसार शाखा अधिकृतमा ५५० मा ३९ हजार ४०५, नायब सुब्बामा ५१२ मा १ लाख १० हजार २९२, खरिदारमा १ हजार २ मा १ लाख ३९ हजार १६२, स्टाफ नर्स १९४ मा १७ हजार ५६८, अनमी २ हजार ६० मा ४३ हजार ५८२, अहेब १ हजार ३६० मा ५ हजार २२३ र सहायक महिला विकास निरीक्षक १३४ मा ४१ हजार ५०२ जनाले दरखास्त फाराम भरेका थिए।
 
'सरकारी सेवातर्फ आकर्षण बढेकाले आयोगबाट खुलाइने पदमा आकर्षण बढेको छ,' उनले भनिन् 'जसले गर्दा माग गरिएका सङ्ख्याभन्दा कैयौं गुणा आवेदन दिने गरेका छन्।'
 
२०७१ सालमा आयोगले विभिन्न पदमा ३ हजार ७०३ को सङ्ख्यामा दरखास्त माग गरेकामा ४ लाख ७७ हजार ४३५ जनाले आवेदन दिएका थिए।
 

वार्षिक १८ करोड राजस्व

सरकारले यसरी आयोगमार्फत गरिने दरखास्तबाट वार्षिक करिब रु १८ करोड राजस्व सङ्कलन गर्ने गरेको छ।
 
गतवर्षको आवेदनको सङ्ख्याबाट करिब रु १८ करोड ९ लाख ९७ हजार ७२५ राजस्व सङ्कलन हुने गरेको आयोगका लेखापाल सूर्यप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार सरकारले आयोगबाट सहसचिव, उपसचिव, शाखाअधिकृत, खरिदार सरह र बढुवा फारामबाट उक्त राजस्व सङ्कलन गर्ने गरेको छ।
 
गतवर्ष आयोगले शाखा अधिकृतदेखि खरिदारसम्म ७ पदमा दरखास्त माग गर्दा सरकारले रु १७ करोड ३४ लाख ९१ हजार ८ सय र सहसचिव, उपसचिव तथा बढुवा फारामबाट रु ७५ लाख पाँच हजार ९२५ राजस्व सङ्कलन गरेको छ।
 
आयोगको तथ्याङ्कअनुसार २०७१ सालमा आयोगबाट माग गरिएका दरखास्तबाट सरकारले करिब रु १८ करोड ७५ लाख ११ हजार राजस्व सङ्कलन गरेको थियो।
 
उनका अनुसार परीक्षा सञ्चालनमा करिब रु ३० करोड ५९ लाख २४ हजार ३९० खर्च हुने गरेको छ। जबकि दरखास्त आवेदनबाट रु १८ करोड ९ लाख ९७ हजार ७२५ मात्र सङ्कलन हुने गरेको छ।
 
विज्ञापन, प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका, शैक्षिक सामग्री, परीक्षा सञ्चालन, कोडिङ, उत्तरपुस्तिका परीक्षणलगायतमा खर्च हुने गरेको छ।
 
शर्माले विभिन्न पदको विज्ञापन गर्दा मात्र रु ३ करोड खर्च लाग्ने गरेको बताए। आयोगले उत्तरपुस्तिका परीक्षण गर्नेलाई सय पूर्णाङ्कको सय रुपैयाँ दिने गरेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell