PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

नेपाल औषधि लिमिटेड पुन: सञ्चालन हुने, ३ महिनाभित्रै ८ किसिमका औषधि उत्पादन



पहिलोपोस्ट

नेपाल औषधि लिमिटेड पुन: सञ्चालन हुने, ३ महिनाभित्रै ८ किसिमका औषधि उत्पादन

काठमाडौं : २०६७ सालदेखि बन्द भएको नेपाल औषधि लिमिटेड पुन: सञ्चालनमा आउने भएको छ।
 
तीन महिनाभित्र लिमिटेडले आठ प्रकारका औषधी उत्पादन गर्ने भएको छ। उद्योगमन्त्री नवीन्द्रराज जोशीले सबै प्रक्रिया पूरा गरेर तीन महिनाभित्रै आठ प्रकारका औषधी उत्पादन गर्ने जानकारी दिए।
 
उनका अनुसार प्रारम्भिक चरणमा सरकारी अनुदानमा जनतालाई नि:शुल्क दिइरहेका औषधिहरु सिटामोल, आइरन चक्की, जीवनजल, अल्वाजोल, एमोक्सोसिलिन, कफनास, एमजीट र कफहिस उत्पादन गर्नेछ।
 
मन्त्रिपरिषदको आइतबारको बैठकले सो उद्योगलाई पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो। २०२९ सालमा स्थापना भएको उद्योगले २०६० सालसम्म १२० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो।
 
'पहिलो चरणमा सरकारले वितरण गर्ने औषधीहरु उत्पादनमा प्राथमिकता दिन्छौं' मन्त्री जोशीले भने, 'सबै ‍औषधि सरकारले किन्ने हो केही समस्या पर्दैन। हामी छिट्टै चर्चित ब्राण्डलाई स्थापित गर्न सक्षम हुनेछौं। कम्पनीलार्इ अन्तराष्ट्रिय मापदण्ड (डब्लुएचओ जिएमपी) अनुसार सञ्चालन गराइने मन्त्री जोशीले बताए।

प्रारम्भिक अवस्थामा सरकारले १५ करोड ६५ लाख ऋणस्वरुप लगानी गर्ने तयारी छ।
 

सञ्चालनका लागि समिति

उद्योग मन्त्रालयले उद्योगको पुनः सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी कार्ययोजना सहितको प्रतिवेदन पेस गर्न डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा समिति बनाएको छ। डा. जगदीश अग्रवाल, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुसाल लगायत यसमा सात सदस्य छन्।
 
उद्योगलाई खुल्ला प्रतिस्पर्धाबाट विज्ञहरुको छनौट गरी निश्चित अवधि तोकेर व्यवस्थापन करारमार्फत सञ्चालन गरिनेछ।
 
लिमिडेटका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले हाल उद्योगमा कार्यरत ९७ कर्मचारीलाई स्वेच्छिक अवकाशमार्फत कम गरी आवश्यक पर्ने १९ जना विषय विज्ञ थप गरेर जनशक्ति व्यवस्थापन गर्ने योजना रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell