
काठमाडौं : प्रधानमन्त्री र सभामुखले संविधान दिवसको सम्बोधनमा सेनाको भूमिकालाई नजरअन्दाल गरेको भन्दै रक्षामन्त्री बालकृष्ण खाँणले असन्तुष्टि जनाएका छन्। संविधान दिवसको समारोह सकिएपछि असन्तुष्ट भएर फर्किएका खाँणले आफू निकटका पत्रकार डाकेर सेनाको भूमिकालाई प्रधानमन्त्री र सभामुखले नजरअन्दाज गरेको आरोप लगाए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँणले पहिलो संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीले गरेको लिखित सम्बोधनमा 'संविधानसभा गठन प्रक्रियासम्म आइपुग्न आफ्नो जिउ ज्यानको प्रवाह नगरी जनचाहनालाई पूरा गर्न राजनीतिक दललाई सहयोग गर्ने सेना लगायत सुरक्षा निकायको योगदानको कदर नगरिएको' भन्दै असन्तुष्टि जनाए।
‘सेना लगायत, न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र निर्वाचन आयोगले संविधान निर्माणमा ठूलो भूमिका निर्वाह गरे,’ मन्त्री खाँणले भने ‘तर, संविधान दिवसका अवसरमा प्रधानमन्त्री र सभामुखले सैनिक मञ्च टुडिखेलमा आयोजित कार्यक्रममा मञ्चमा प्रधान सेनापतिलाई बगलमा राख्नुभयो, आफ्नो मन्तव्यका क्रममा सेनाले पुर्याएको योगदानको भने नजरअन्दाज गर्नुभयो।’
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सबै नेपालीको उत्तिकै योगदान भएको बताउदै खाँणले जारी संविधान कार्यान्वयन गर्न, संविधानले जनतामा स्थापित गरिदिएका अधिकारलाई अघि बढाउन, जनचाहना पूरा गर्न तथा नेपालको शान्ति र समृद्धिका लागि दलहरुबीच रहेका आपसी सद्भाव र सहकार्यलाई निरन्तर अघि बढाउनु पर्ने बताए।
रक्षामन्त्री बालकृष्ण खाँणले संविधानसभामार्फत् जनप्रतिनिधिले संविधान निर्माण गर्ने जनचाहनालाई मूर्तरुप दिन राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय एकतालाई अक्षुण राख्दै राष्ट्र र जनताको रक्षाका लागि बदिलानी दिने सेना लगायत अन्य सुरक्षा निकायको योगदानलाई सदैव उच्च कदर गरिनुपर्ने पनि बताए।
नेपालको न्ययिक क्षेत्र, प्रशासनिक निकाय र सेनालगायत सुरक्षा निकायको सहयोग र राजनीतिक दलहरुको संयुक्त प्रयासले मात्रै मुलुकमा दुई पटक संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भई संविधानसभा मार्फत् संविधान बनाउने नेपाली जनताको चाहना पूरा भएकाले ती सबै निकायको भूमिकाको उच्च सम्मान गर्नुपर्ने मन्त्री खाँणको भनाई थियो।