PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​न्युडायमन्ड र हेल्प नेपाललाई उपाधि



पहिलोपोस्ट

​न्युडायमन्ड र हेल्प नेपाललाई उपाधि

काठमाडौं : तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि महिलातर्फ न्यु डायमन्ड एकेडेमी र पुरुषतर्फ हेल्प नेपाल क्लबले जितेका छन्।
 
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भएको च्याम्पियनसिपमा महिलातर्फ नैकापको न्यु डायमन्ड एकेडेमीले नेपाल पुलिस र पुरुषतर्फ हेल्प नेपालले नेपाल आर्मीलाई समान ३-० को सेटमा पराजित गर्‍यो।
 
न्यु डायमन्ड एकेडेमीले पुलिसलाई २५–१८, २५–१४ र २५–१८ को सोझो सेटमा पराजित गर्‍यो। पुलिस टोलीमा राष्ट्रिय खेलाडीको बाहुल्यता भए पनि न्यु डायमन्डले एकपक्षीय रुपमा खेल जित्यो।
 
डायमन्डलाई जिताउन प्रतिभा माली, ललिता नाथ र कृपा अधिकारीले उत्कृष्ट खेल खेले। प्रतिभाले स्पाइकबाट २९, ब्लकबाट २ र सर्भिसबाट ४ गरी ३५ अंक बटुलिन। त्यसैगरी कप्तान ललिता नाथले स्पाइकबाट ३ र ब्लकमा २ गरी ५ अंक जोड्न सफल भइन्। पुलिसकी कोपिला उप्रेतीले स्पाइकबाट ८ र ब्लकबाट एक अंक जाडिन्।
 
न्यु डायमन्डकी कप्तान ललिता नाथले एकपक्षीय खेल भएका कारण धेरै मेहनत गर्नु नपरेको बताइन्। ‘प्रतिस्पर्धात्मक खेल हुन सकेन। त्यसैले जित्नलाई हामीले धेरै मेहनत पनि गर्नु परेन’, कप्तान नाथले भनिन्। त्यसैगरी नेपाल पुलिस क्लबकी कोपिला उप्रेतीले नयाँ र पुराना खेलाडीबीच समन्वय मिल्न नसक्दा पराजय भोग्नु परेको बताइन्।
 
न्यु डायमन्डका प्रशिक्षक कुमार राईले आफ्नो रणनीति अनुसार खेलाडीले खेल्न नसके पनि उपाधि जितेको खुसी व्यक्त गरे।
 
त्यसैगरी पुरुषतर्फको फाइनल खेलमा भारतीय खेलाडीको बाहुल्यता रहेको हेल्प नेपाल क्लवले नेपली सेनाको त्रिभुवन आर्मी क्लवलाई २५–२१, २७–२५ र २५–१७ को सोझो सेटमा हरायो। हेल्प नेपाललाई उपाधि दिलाउन शुभम् चौधरीले स्पाइकबाट २६ अंक बटुले। आर्मीका नरेन्द्र गिरीले स्पाइकबाट १६ र मानबहादुर श्रेष्ठले स्पाइकबाट ८ र ब्लकबाट २ गरी १० अंक जोडे।
   
त्यसैगरी तेस्रो स्थानका लागि भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लवले टप्स पश्चिमाञ्चललाई २५–२१, २५–१४ र २५–१२ को सोझो सेटमा पराजित ग¥यो।
 
पुरुषतर्फको तेस्रो स्थानको खेलमा विभागीय टोली एपीएफले पश्चिमाञ्चललाई ३–२ को सेटमा हरायो। एपीएफले  २५–२३, १९–२५, २५–१९, २९–३१ र १५–६ को सेटबाट हरायो।
 
प्रतियोगिताको पुरुष तथा महिलातर्फको उपाधि बिजेता न्यु डायमन्ड र हेल्प नेपालले ट्रफीसहित नगद १ लाख २५ हजार प्राप्त गरे भने उपविजेता नेपाल पुलिस क्लव र नेपाली सेनाले नगद ७०/७० हजार प्राप्त गरे। तेस्रो स्थान हासिल गरेका एपीएफका महिला तथा पुरुष टोलीले ५०/५० रुपैयाँ प्राप्त गरे।
 
प्रतियोगितामा महिलातर्फ न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली  र पुरुषतर्फ हेल्प नेपालका शुभम् चौधरी उत्कृष्ट खेलाडी घोषित भए। उनीहरुले जनही १५ हजार पुरस्कार प्राप्त गरे।
 
महिलातर्फ सेटरमा न्यु डायमन्डकी कृपा अधिकारी, डिफेन्समा न्यु डायमन्डकै सलिना श्रेष्ठ घोषित भइन् भने स्पाइकरमा नेपाल पुलिसकी कोपिला उप्रेती र वेष्ट सर्भरमा टप्स पश्चिमाञ्चलकी अरुणा शाही घोषित भए।
 
पुरुषतर्फ बेष्ट स्पाइकरमा नेपाली सेनाका नरेन्द्र गिरी, सेटरमा हेल्प नेपालका विकास चौधरी, ब्लकमा हेल्प नेपालकै शुभे सिंह, डिफेन्समा हेल्प नेपालका मोहन पुन र सर्भरमा सेनाका मानबहादुर श्रेष्ठ घोषित भए। विधागत रुपमा उत्कृष्ट हुने जनही ५ हजार पुरस्कार प्राप्त गरे।
 
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरे।
 
समीक्षालाई एक्सिलेन्सी पुरस्कार
च्याम्पियनसिपको महिलातर्फको उपाधि विजेता न्यु डायमन्ड एकेडेमीकी समीक्षा घिमिरे एक्सिलेन्सी पुरस्कारबाट सम्मानित भएकी छन्।
 
न्यु डायमन्ड एकेडेमीमा कक्षा ९ मा अध्ययनरत घिमिरे बोल्न र सुन्न नसके पनि विगत ४/५ बर्षदेखि नियमित रुपमा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन्। उनलाई शेरबहादुर खड्का प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले एक्सिलेन्सी ट्रफीसहित नगद १० हजार बाट पुरस्कृत गरेका हुन्।
 
पूर्व राष्ट्रिय खेलाडी तथा भलिबल संघका उपाध्यक्ष खड्काले समीक्षाले भलिबल खेलमा देखाएको समर्पणका लागि सम्मान गरेको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell