काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाद्वारा लोकतान्त्रिक विधिमार्फत पारित भई जारी भएको संविधान जनतालाई पूर्ण सार्वभौम र आफ्नो भाग्यको मालिक बनाउने महत्वपूर्ण दस्तावेज भएको बताएकी छिन्।
पहिलो संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७३ का अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले भनिन्, “सात दशकको अवधिमा हामीले प्राप्त गरेको सात वटा संविधानमध्ये हाम्रो देशको इतिहासमा जनताका लागि जनताद्वारा बनाइएको यो पहिलो संविधान हो।”
राष्ट्रपति भण्डारीले संविधानले समतामूलक र न्यायपूर्ण समाज सिर्जना गर्ने लक्ष्य लिएको बताउँदै संविधानले सङ्घर्षका उपलब्धिलाई संस्थागत गर्दै मुलुकको सामाजिक तथा आर्थिक विकासका निम्ति मार्गदर्शन गर्न सक्षम रहेको छ भनिन्।
लोकतन्त्र, वाक स्वतन्त्रता, मौलिक हक र मानवअधिकारप्रति नेपाली जनताको बलिदान एव्म अथक सङ्घर्षको सफल प्रतीकका रुपमा नेपालको संविधान रहेको उल्लेखगर्दै उनले भनिन्, “आमजनता, राजनीतिक दल र सरकारको प्रमुख दायित्व संविधानको प्रभावकारी कार्यान्वयन गर्नु नै हो।”
राष्ट्रपति भाण्डारीले संयुक्त राष्ट्र सङ्घको सक्रिय सदस्य र असंलग्न आन्दोलनको संस्थापक राष्ट्रका रुपमा नेपालले विश्वका सबै राष्ट्रसँग सम्बन्ध विकास र अभिवृद्धि गर्ने उद्देश्यसहित स्वतन्त्र परराराष्ट्र नीतिको अवलम्बन गरेको उल्लेख गरे।
संविधानको सर्वोच्चता, कानुनी शासन, मानवअधिकार र लोकतन्त्रप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै उनले नेपालको लोकतान्त्रिकीकरणको प्रक्रिया अघि बढाउने, संवैधानिक प्रणालीको सुदृढीकरण गर्ने तथा देशको द्रुततर समाजिक आर्थिक विकास गराउने कार्यमा मित्रराष्ट्रबाट प्राप्त सद्भाव र शुभेच्छाका लागि धन्यवादसमेत व्यक्त गरिन्।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, कार्यवाहक सभामुख गङ्गाप्रसाद यादव, उपप्रधान एव्म गृहमन्त्री विमलेन्द्र निधि, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल, मन्त्रिगण, पूर्वसभामुख, संवैधानिक निकायका प्रमुख, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सरकारका उच्च अधिकारी लगायतको सहभागिता थियो।
समारोहमा विभिन्न जातजाति, भाषा संस्कृतिका नृत्य तथा सङ्गीत प्रस्तुत गरिएको थियो। रासस