PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

विद्यालयमा आतंक फैलाउन माओवादीको विद्यार्थी संगठनले 'बम' जस्तै देखिनेगरी के राखेको थियो?



सविन ढकाल

विद्यालयमा आतंक फैलाउन माओवादीको विद्यार्थी संगठनले 'बम' जस्तै देखिनेगरी के राखेको थियो?

काठमाडौं : मंगलबार बिहान राजधानीका ७ वटा विद्यालयमा बम जस्तो देखिने शंकास्पद वस्तुले विद्यार्थी तथा अभिभावकलाई भयभीत तुल्यायो। तर प्रहरीले विद्यालयमा बिहान भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि गरेको छ।

महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले भने, 'विद्यालयमा भेटिएका सबै शंकास्पद वस्तु बम थिएनन्। मानिसलाई भयभीत बनाउन उनीहरुले त्यस्तो कार्य गरेको देखियो।'

बौद्धका दुई विद्यालय आकाशदीप र मनकामना उच्च माविमा पनि विस्फोट भएको वस्तु बम नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए। 'मिनी प्रकारको ग्यास विस्फोट गराएर तर्साउन खोजेको देखियो', कार्कीले भने।

डल्लुस्थित कञ्चनजंघा इन्ट्रिग्रेट विद्यालयमा भने २ लिटरको प्रेसर कुकरभित्र ब्याट्री राखेर तर्साउन प्रयोग गरिएको प्रहरीले बताएको छ। त्यस्तै बौद्धको राई स्कुल र इस्टपोल स्कुलमा पनि सुतली बम जस्तो देखिने वस्तु मात्र राखिएको कार्कीले जानकारी दिए। अहिलेसम्म घटनामा संलग्न रहेको आशंकामा प्रहरीले बौद्धबाट दुई जनालाई पक्राउ गरेको छ।

ललितपुरको रेडियन्स स्कुलमा पनि फेला परेको शंकास्पद वस्तु बम नभएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्‍वर कार्कीले पहिलोपोस्टलाई बताए। 

'कुकरभित्र तार जोडी तर्साउनका लागि हुक्स टाइपको बम बनाउन खोजिएको देखियो', उनले भने, 'यहाँ नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको विद्‍यार्थी संगठनको पर्चा भेटिएको छ।'  माओवादी कम्युनिस्ट केन्द्र नेपाल र यसका भ्रातृ संगठनहरु अखिल क्रान्तिकारी राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ्ग कम्युनिष्ट फोर्स नेपालको नाममा ती पर्चा भेटिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell