
काठमाडौं : नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले भारतको गुहावटीमा भइरहेको ६४ औं बोर्डोलोइ ट्रफी फुटबल प्रतियोगितामा शानदार सुरुवात गरेको छ।
समूह ए अन्तर्गत सोमबार राति सम्पन्न खेलमा थ्री स्टारले नागाल्याण्डको बारक एफसीलाई ६-१ ले पराजित गरेको छ।
नेहरु स्टेडियममा थ्री स्टारलाई सहज जित दिलाउन अफ्रिकन खेलाडी मार्टिनले २ गोल गरे भने निराजन खड्का, बुद्ध चेम्जोङ, सुनिल बाल र कप्तान विक्रम लामाले १/१ गोल गरे।
बाराकका तर्फबाट अवाङले सान्त्वना गोल फर्काए। नेपाली राष्ट्रिय टीमका फरवार्ड विमल घर्ती मगरले समेत थ्री स्टारबाट खेलेका थिए।
जितसँगै स्पष्ट ३ अंक जोडेको थ्री स्टार समूहको शीर्ष स्थानमा छ। थ्री स्टारले समूहको दोस्रो खेलमा शुक्रबार ओयल इन्डियासँगै खेल्नेछ।
समूह ए अन्तर्गत आइतबार भएको उद्घाटन खेलमा सिलोङ लाजोङ र ओयल इन्डियाले १/१ गोलको बराबरी खेलेका छन्।
प्रतियोगितामा सहभागिता जनाएको कुल ८ टीमलाई दुई समूहमा विभाजन गरिएको छ। फोटो : goalnepal.com