PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

​दसैं आयो, के होला खसीको भाऊ ?



अमर बडुवाल

 ​दसैं आयो, के होला खसीको भाऊ ?

काठमाडौं : कलंकीमा रहेको काठमाडौं चौपाया खरिद बिक्री केन्द्रले दसैंका लागि ३० देखि ३५ हजार खसीबोका ल्याउने भएको छ। केन्द्रका व्यवस्थापक जनक खड्काले उपत्यकाको माग अनुसार खसीबोका ल्याउन लागेको जानकारी दिए।
 
उनका अनुसार यो वर्ष स्वदेशी उत्पादन पनि राम्रो भएकाले दसैंमा खसीबोकाको अभाव हुने छैन र  मूल्य पनि बढ्दैन। केन्द्रले गत वर्ष ३५ हजार खसीबोका र भेडाच्याङ्ग्रा बेचेको थियो।


नेपाली खसीले लिँदै ५० प्रतिशत हिस्सा

पहिले दसैंमा ९० प्रतिशत भारतीय खसीबोका ल्याउने गरेको तथ्याङ्क भए पनि पछिल्ला वर्षहरुमा वर्षेनी ५ प्रतिशत भन्दा बढीको दरले नेपाली उत्पादन बढेको खड्काले बताए।
 
अरु समयमा ७० प्रतिशत भारतीय खसीबोका आयात हुन्छन् दसैंको समयममा नेपाली उत्पादनले ५० प्रतिशत हिस्सा लिन्छ। नेपालमा पनि व्यावसायिक बाख्रा पालन गर्नेहरु बढेकाले नेपाली उत्पादनलाई प्राथामिकता दिँदै नपुग खसीबोका मात्र भारत बाट ल्याउने केन्द्रको तयारी छ।
 

खसी भन्दा मासु किन्ने बढ्दै

विगतका वर्षहरुमा खाना खान पनि फुर्सद नपाउने कलंकीका  व्यापारी गतवर्ष भने धेरैले आराम गर्न पाए। खड्का भन्छन्, 'उपभोक्ता खसी बनाउन कस्ले दु:ख गर्छ भनेर तयारी मासुप्रति आकर्शित भएका छन्।'
 
मासु पसलबाट लिँदा चाहिएको जति मासु रोजेरै लिन पाइन्छ किन खसीको पछि लाग्ने भनेर उपभोक्ता खसीबजार आउन छोडेर मासु पसल जाँदाभिड घटेको खड्काको दावी छ।
 

कति होला खसीको मुल्य?

अहिले कलंकीमा जिउँदो खसी प्रतिकिलो ४ सय देखि ४ सय ३० रुपैया सम्म छ। खड्का भन्छन्, 'दसैंमा यति नै मूल्य हुन्छ भन्न सकिँदैन तर माग र आपूर्तिमा आउने फरकले १०/२० रुपैयाँ तल माथि भए पनि मूल्य धेरै घटबढ भने हुने छैन।'
 
नेपाली उत्पादन पनि राम्रो भएकाले बजारमा मूल्य नबढ्ने अनुमान गरेको खड्काले बताए। अहिले खसीको तयारी मासु प्रतिकिलो ८ सय ५० रुपैयाँ रहेको छ। दसैंको मुखमा पनि यही मूल्य कायम गर्ने नयाँबसपार्कस्थित रातामकै मासुपसलका संचालक सीताराम श्रेष्ठले बताए।
 

च्याङ्ग्राको अभाव

विगतका वर्षमा चीनबाट समेत च्याङ्ग्रा आउँथ्यो। तर यस वर्ष बाटो नभएकाले मनाङ र मुस्ताङबाटमात्रै भेडा च्याङ्ग्रा ल्याइनेछ। खसी अभाव हुने अवस्थामा २४ घण्टा भन्दा कम समयमा नै भारत बाट ल्याउन सकिन्छ तर च्याङ्ग्रा ल्याउन ७ देखि १० दिन लाग्ने भएकोले माग अनुसार पाउन मुस्किल हुने खड्काले बताए। गत वर्ष ३ हजार भेडा च्याङ्ग्रा बिक्री  गरेको केन्द्रले  उपभोक्ता मूल्य ६ सय ५० देखि ७ सय रुपैयाँ प्रतिकिलो जिउँदो बेचेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell