PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मधेस आन्दोलनका घाइते मुन्सी भन्छन्- 'सरकारले नोकरी नदिए बाँच्न गाह्रो हुन्छ'



राधेश्याम पटेल

मधेस आन्दोलनका घाइते मुन्सी भन्छन्- 'सरकारले नोकरी नदिए बाँच्न गाह्रो हुन्छ'

वीरगन्ज : गत वर्षको मधेस आन्दोलनमा घाइते भएका पर्सा बगही–३ का मुन्सी पटेल अस्पतालबाट सोमबार घर फर्किए। ३० वर्षीय मुन्सीलाई गत वर्ष असोज ३ गते वीरगन्जको गीता मन्दिर नजिक प्रदर्शन गरिरहँदा प्रहरीको गोली लागेको थियो।
 
पिठ्युँमा गोली खाएका उनले राजधानीको वीर अस्पताल, साँगा, साँखुको अस्पताल हुँदै दिल्लीको एम्स अस्पतालसम्म गएर उपचार गराए। गत बैसाखदेखि भने वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उनको उपचार भइरहेको थियो। ६ महिना काठमाडौंको हस्पिटलमा र बाँकी समय दिल्ली र वीरगन्जमा उपचार गराएको बुवा रामचन्द्र बताउँछन्।
 
उनलाई एक हप्ताअगाडि नै चिकित्सकहरुले घर जान सक्ने भएको भनी डिस्चार्ज गर्न सल्लाह दिएका थिए। चिकित्सकको सल्लाह अनुसार नै परिवारजनले हिजो मात्रै उनलाई घर लगेका हुन्।
 
वैशाखी बिना उभिन र हिँडडुल गर्न सक्दैनन् उनी। उपचारको क्रममा उनले एक वर्ष अस्पतालको पीडादायी जीवन बिताएका छन्। घर फर्कन पाउँदा मुन्सी जति खुसी छन्, आन्दोलनपछि पनि मधेसको माग पूरा हुन नसकेको देख्दा भने उनलाई दु:ख लाग्छ।
 
मुन्सीको उपचारमा कति रकम खर्च भयो भने कुराको हिसाब छैन। ‘धेरै लाग्यो होला, मोटामोटी २० लाखभन्दा बढी,’ बुवा रामचन्द्र भन्छन्, 'मेरो घरको पनि करिब एक लाख रुपैयाँ दिल्लीमा खर्च भएको छ।'
 
उनको उपचारमा सबैभन्दा बढी खटिने उनकी आमा शान्ति छोरालाई घर ल्याउन पाएकोमा निकै खुसी लागेको बताउँछिन्। श्रीमती आशादेवी पनि अरु दिनभन्दा हँसिलो भेटिइन्।
 
‘सरकारले अब चाँडै सहिद तथा घाइते परिवारलाई नोकरी दिनुपर्छ, नत्र गाह्रो हुन्छ,' मुन्सी भन्छन्, 'परिवारका सदस्यमध्ये एक जनाले पनि रोजगार पायो भने जीवन बाँच्ने आधार खडा हुन्छ।’

उनी घाइते भएपछि पनि लामो समय मधेस आन्दोलन भयो। संविधान संशोधनको कुरा चलिरहेको छ। उनी भने नेताहरुले चाहेमा मधेसको माग चाँडै पूरा हुनेमा विश्वस्त छन्। उनी थप्छन्, 'हामी जस्ता घाइतेहरुलाई नेताहरुले पनि हेर्नुपर्छ, नत्र आफ्नो अधिकारका लाागि अरु मुन्सीहरु पनि आन्दोलनमा होमिन बाध्य हुनेछन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell