PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

विद्यार्थी संगठनका नेता भन्छन्- 'आतंक फैलाउनेलाई कारबाही होस्, हामी सघाउँछौं'



सविन ढकाल

विद्यार्थी संगठनका नेता भन्छन्- 'आतंक फैलाउनेलाई कारबाही होस्, हामी सघाउँछौं'

काठमाडौं : राजधानीमा आज बिहानै फैलिएको 'बम आतंक'को हल्लाले अभिभावक र विद्यार्थी मात्र होइन आम नागरिकलाई भयभीत बनायो। राजधानीका सात वटा विद्यालयमा बम जस्तो देखिने शंकास्पद वस्तु राख्ने र आतंक मच्चाउने अरु कोही नभएर विद्यार्थी संगठन नै थियो। घटनास्थलमा फेला परेको पर्चाले यो पुष्टि गरेको छ।
 
घटनामा संलग्न रहेको शंकामा प्रहरीले दुई जनालाई त समातेको छ तर पूरा परिचय खुलाइसकेको छैन। बम राखेर कलिला विद्यार्थी र अभिभावकको मनोविज्ञानमा किन यसरी आतंक फैलाइयो? प्रश्नहरु उब्जिरहेका छन्।
 
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिस्ट फोर्स नेपालको पर्चा भेटिए पनि घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। विद्यार्थीको हकहित र अधिकारको कुरा उठाउने भन्दै आन्दोलन गर्ने विद्यार्थी संठगनबाटै विद्यालयमा बम राखिनुले उनीहरुमाथि चौतर्फी प्रश्न उठाइएको छ।
 
घटनापछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), एन प्याब्सन र उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलन मार्फत दोषीलाई तत्काल कारबाही नगरे आन्दोलमा उत्रने चेतावनी दिइसकेका छन्।
 
मुख्य तीन विद्यार्थी संगठनहरुले पनि घटनाको घोर निन्दा तथा भर्त्सना गरेका छन्। हामीले उनीहरुसँग छोटो प्रतिक्रिया लिएका छौं।
 

नैनसिंह महर, अध्यक्ष– नेपाल विद्यार्थी संघ


विद्यार्थी र विद्यालय क्षेत्रको अधिकारमाथिको प्रहार हो यो। देशमा द्वन्द्व  समाप्त भएर शान्तितर्फ लागेको बेला यस किसिमको घटना हुनुले सम्पूर्ण युवामाथि नै प्रश्न उठेको छ। सबै वर्गले समान शिक्षा पाउनुपर्छ भन्ने सबै विद्यार्थी संगठनको समान माग भए पनि माग पूरा गर्ने तरिका यो सरासर गलत हो। सरकारले यो घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ। यो घटनाले सम्पूर्ण विद्यार्थी संगठनको बदनाम गराएको छ।
 

नवीना लामा, अध्यक्ष– अनेरास्ववियु


शिक्षा क्षेत्रमाथि नै बम आतंक फैलाउनु अमानवीय र आपराधिक गतिविधि हो। यस्ता घटनाले विद्यार्थी आन्दोलन र संगठनलाई नै कलंकित गराउँछन। घटनामा संलग्नलाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्नुपर्छ। हाम्रो संगठनको माग पनि यही हो।
 

सुरेन्द्र बस्नेत, प्रवक्ता–अखिल क्रान्तिकारी


नाम नै नसुनेको विद्यार्थी संगठनले सम्पूर्ण विद्यार्थी संगठनलाई नै कलंकित गराएको छ। यो कार्य भर्त्सना गर्न लायक छ। कलिला विद्यार्थीलाई त्रसित बनाएर स्कुल स्कुलमा बम पड्काउनु कायरता हो। सरकारले छानबिन गर्नुपर्छ, बरु हामी पनि सरकारलाई आवश्यक सहयोग गर्न तयार छौं।

सम्बन्धित समाचारहरु :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell