
सोलुखुम्बु : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधन प्रक्रिया सुरु नगर्दा कांग्रेस-माओवादी गठबन्धन र मोर्चाबीच भएको तीन बुँदे सम्झौता कार्यान्वयनमा शंका पैदा भएको बताएका छन्।
संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले संविधान संशोधनको काम ढिला भए पनि आशा भने बाँकी नै रहेको बताए।
पार्टीको शेर्पा प्रदेश प्रशिक्षणका लागि सोलुखुम्बु पुगेका यादवले संविधानलाई प्वालैप्वाल भएको च्यादरको संज्ञा दिए। ‘यो संविधान प्वालैप्वाल भएको च्यादर जस्तै हो,’यादवले भने, ‘दलहरु प्वाल टाल्न सहमत भएनन् भने हामी फेरि आन्दोलन गर्छौं देशभर आन्दोलन चर्किन्छ।’
प्रचण्ड सरकारले संघीय गठबन्धनका माग संविधान संशोधनको माध्यमबाट पूरा गर्ने प्रतिबद्धता जनाएकाले सरकार बाहिरै बसेर पनि सरकारलाई समर्थन दिएको उनको भनाइ छ। यादवले एमालेले संविधान संशोधनमा बाधा खडा गरे देश नै अतिवादीहरुको हातमा जान सक्ने खतरा औंल्याए। ‘संविधान संशोधनका लागि अवरोध गरेर एमालेले अतिवादी सोच राखे देश द्वन्द्वमा जान सक्छ,’उनले भने।
संविधान संशोधनको मुख्य एजेण्डा संघीयताभित्र पहिचान, प्रादेशिक स्वायत्त र सुशासन, राज्यपुनर्संरचना, स्रोतसाधन तथा शक्तिको बाँडफाँट नै रहने उनको भनाइ थियो।