PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्- 'दसैंअघि नै संविधान संशोधन प्रक्रिया थालिन्छ'



पहिलोपोस्ट

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्- 'दसैंअघि नै संविधान संशोधन प्रक्रिया थालिन्छ'

काठमाडौं : संविधान दिवसको दिन टुँडिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधानको दोस्रो संशोधनका लागि लागिसकेको बताएका थिए। संविधानको स्वीकार्यता फराकिलो बनाउनका लागि संविधान संशोधन आवश्यक भएको पनि उनले प्रस्ट्याए।

आज राजधानीमा रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले पनि दसैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन्। अझ उनले त संविधान संशोधन प्रक्रिया अघि बढाउनकै लागि प्रधानमन्त्रीको अमेरिका भ्रमण स्थगित भएको समेत बताए।
 
संशोधन प्रस्ताव दर्ता गर्नको लागि मात्रै नभएर निकास दिनेगरी नै सरकार गम्भीर भएको भन्दै खनालले भने, 'प्रस्ताव अपरिपक्व नहोस् भनेर सरकार गम्भीर छ। दर्ताको लागि मात्रै दर्ता नगरेर हामी संशोधनमार्फत समस्या समाधान होस् भन्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ।' संविधान संशोधनमा सहमति जुटाउन प्रमुख दलबीच अहिले सघन वार्ता भइरहेको पनि उनले बताए।
 
प्रधानमन्त्रीको भारत भ्रमणबारे भने खनालले नेपाल–भारत सम्बन्धमा झनै सुधार भएको बताएका छन्। ‘चिसिएको सम्बन्धमा सुधार भएको छ र विगतमा भएका द्वीपक्षीय सम्झौता कार्यान्वयनमा आउनेछन्,’ खनालले भने।
 
मधेसी, जनजाति, थारु, आदिवासी लगायतका मुद्दालाई सम्बोधन गर्न पनि संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा आफ्नो पार्टीले पहिलेदेखि नै उठाएको उल्लेख गर्दै उनले जतिसक्दो मिल्ने कुरामा संशोधन गर्न सरकार तयार रहेको बताए।

‘सबैको अपनत्व भयो र आवाज सम्बोधन भयो भने मुलुकको आन्तरिक राष्ट्रियता पनि बलियो हुन्छ,’ उनको भनाइ थियो, 'संविधान दिवसका दिन असन्तुष्ट पक्षहरुले कालो दिवस मनाएर विरोध गरे पनि वार्ता तथा संवाद  अहिले पनि जारी छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell