
काठमाडौं : नेपाली कांग्रेसले विद्यालयमा बम राख्ने तथा शंकास्पद वस्तु राखेर आतंक फैलाउने काम घोर निन्दनीय भएको बताएको छ। कांग्रेसले विज्ञप्ति जारी गरी शान्ति क्षेत्रका रुपमा रहेको विद्यालयमा भएको घटना अत्यन्त निन्दनीय भएको जनाएको हो।
'शान्ति, विकास र समृद्धिका वाहक मानिएका बालबालिकाले भयरहित वातावरणमा शिक्षा आर्जन गर्न पाउने नैसर्गिक अधिकारमाथि यो घटनाले ठाडो प्रहार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘शान्ति क्षेत्रको रुपमा रहेको विद्यालयहरुमा भएको यो घटना अत्यन्त निन्दनीय रहेको छ, यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र विरोध गर्दछ।’
कांग्रेसले बालबालिका, शिक्षक, अभिभावक लगायत समाजमा भय, आतंकको वातावरण सिर्जना गर्न खोज्ने यस्ता आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरी उनीहरुलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। विज्ञप्ति पर्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेका छन्।
काठमाडौँको जोरपाटीस्थित आकाशदीप स्कुल र मनकामना उच्च माविमा बम विष्फोट भएका थिए भने बौद्धस्थित राई स्कुल, इस्टपोल, बालसंसार र ललितपुरको रेडियन्ट स्कुलमा शंकास्पद वस्तु भेटिएको थियो।