
काठमाडौं : वाइवाइ एभरेस्ट प्रिमियर लिग इपिएल टी २० क्रिकेट प्रतियोगितामा भारतका पूर्व कप्तान अजय जडेजा आउने भएका छन्।
आयोजक जोहोरो स्पोर्टस् म्यानेजमेन्स जेडएसएमका निर्देशक आमि अख्तरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जडेजा फाइनल खेलको लागि 'स्पेसियल गेष्ट'मा रुपमा उपस्थित हुने बताए।
असोज ८ गते उद्घाटन हुने वाइवाइ इपिएल क्रिकेटको फाइनल खेल असोज १७ कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। जडेजा १५ गते काठमाडौं आउने र फाइनलअघिको रेस्ट डे पत्रकारहरुसँग अन्तरक्रिया समेत गर्न सकिने अख्तरले बताए।
जडेजाले एसोसिएट क्रिकेट राष्ट्रको प्रतियोगितामा भ्रमण गर्न लागेको यो पहिलो पटक रहेको समेत अख्तरले बताए। जडेजाले सन् १९९२ देखि २००० सम्म भारतीय क्रिकेट टीमका लागि खेलेका थिए।
यस्तै ८ गते हुने उद्घाटन खेल अघि गायक दीपक बज्राचार्यले लाइभ पर्फमेन्स गर्ने भएका छन्। टी २० क्रिकेट मनोरञ्जनको माध्यम भएको र प्रतियोगिताको माहोललाई संगीतमय बनाउन दर्शकलाई मनोरञ्जन प्रदान गर्न बज्राचार्यको प्रस्तुति रहनेछ।
यस्तै प्रतियोगिता अवधिभर फ्यानहरुको लागि फ्रि इन्ट्रीको व्यवस्था रहेको छ। दर्शकहरुलाई अझै धेरै मनोरञ्जन प्रदान गर्नको लागि इनिङ म्याच ब्रेकमा समेत विभिन्न खालको गतिविधि रहने अख्तरले जानकारी दिए।