
काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुन गइरहेकी '९० हजार औं' भुटानी शरणार्थी सरीमाया ठटाललाई आज बिदाइ गरेकी छिन्।
अमेरिकाको न्यु ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट भोलि प्रस्थान गर्दैछिन्। राजदूत टेपलेट्जले गत साता झापास्थित बेलाडाँगी भुटानी शरणार्थी शिविरको भ्रमण गरी तेस्रो मुलुक पुनर्वास कार्यक्रमको विषयमा छलफल गरेकी थिइन्। सो कार्यक्रम अब समापनको नजिक पुगेको छ।
'नेपाली जनता र सरकारले दशकौँदेखि अत्यन्त कृपापूर्वक शरणार्थीहरूलाई आतिथ्य सत्कार प्रदान गर्दै आएका छन् र भुटानी शरणार्थीहरूको तेस्रो मुलुक पुनर्वास हालैका वर्षहरूमा सफल शरणार्थी व्यवस्थापन विधिमध्ये एक बनेको छ,' राजदूत टेपलेट्जले भनिन् 'स्वदेश फर्कन चाहने शरणार्थीलाई फिर्ता लिनका लागि अन्तर्राष्ट्रिय समुदायले भुटान सरकारसँग आग्रह गरिरहेको भए पनि नेपालमै बाँकी रहने शरणार्थीहरूका लागि दीर्घकालीन समाधान पत्ता लगाउनु अति महत्त्वपूर्ण छ।' पुनर्वासको कार्यक्रम समापन हुनै लागेको पनि उनले जानकारी गराइन्।
अमेरिकी दूतावासमा आयोजित समारोहमा २० वर्षभन्दा लामो अवधि शरणार्थी शिविरमा बिताएकी ठटालले अमेरिका पुगेपछि आफू र आफ्ना सन्तानका लागि नयाँ अवसरका आशाका बारेमा बताएकी थिइन्। अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) का नियोग प्रमुख पल नर्टन र शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) का लागि नेपाल प्रतिनिधि केभिन एल्लेनले राजदूत टेपलेट्जलाई ठटालको बिदाइमा साथ दिए।
अमेरिकामा ९० हजार भुटानी शरणार्थी पुगेसँगै तेस्रो मुलुकमा पुनर्वासमा गएका भुटानी शरणार्थीहरूको कुल सङ्ख्या १ लाख ५ हजार पुगेको छ।
संयुक्त राज्य अमेरिकाले नेपाल सरकार, युएनएचसीआर, आइओएम तथा अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स, न्युजिल्याण्ड, नर्वे र बेलायतका सरकारहरूसँगको समन्वयमा पूर्वी नेपालमा बसोबास गर्दै आइरहेका भुटानी शरणार्थीहरूलाई सन् २००७ देखि पुनर्वास गराउन थालेको हो।