PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

रामलाल जोशीको कथासंग्रह 'ऐना'लाई २०७२ को मदन पुरस्कार, जगदम्बाश्री लीलबहादुर क्षेत्रीलाई



पहिलोपोस्ट

रामलाल जोशीको कथासंग्रह 'ऐना'लाई २०७२ को मदन पुरस्कार, जगदम्बाश्री लीलबहादुर क्षेत्रीलाई

काठमाडौं : २०७२ सालको मदन पुरस्कार रामलाल जोशीको कथा संग्रह 'ऐना'का लागि दिइने भएको छ। जगदम्बाश्री पुरस्कार भने साहित्यकार लीलबहादुर क्षेत्रीले पाउने भएका छन्।
 
मदन पुरस्कार गुठीको आजको बैठकले पुरस्कारको घोषणा गरेको हो। यसअघि गुठीले असार २१ गते पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक गरेको थियो। अघिल्ला वर्षहरुमा भने गुठीले एकैचोटि पुरस्कृत पुस्तकको नाम सार्वजनिक गर्दै आएको थियो।
 
गुठीलाई प्राप्त पुस्तकमध्ये 'श्रेष्ठ सूची'मा भुवनहरि सिग्देलको 'आमोई', रामलाल जोशीको 'ऐना', नीलम कार्की निहारिकाको 'चीरहरण', घनश्याम खड्काको 'निर्वाण', सरिता तिवारीको 'प्रश्नहरूको कारखाना', बुद्धिसागरको 'फिरफिरे' र दामोदर पुडासैनी ‘किशोर’को 'सिमानाका रङ्ग सिमानाका तरङ्ग' परेका थिए।
 
छनोट समितिको मूल्यांकनका आधारमा उत्कृष्ट सात पुस्तकलाई सार्वजनिक गरिएको र तिनैमध्ये सर्वोत्कृष्ठ कथा संग्रह ऐनालाई मदन पुरस्कार घोषित गरिएको गुठीले जनाएको छ।

आज सार्वजनिक यिनै पुस्तकमध्येबाट सर्वश्रेष्ठ एकलाई २०७२ को मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ।

गुठीद्वारा जारी विज्ञप्तिमा ६० वर्षभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा समर्पित भएकाले क्षेत्रीलाई जगदम्बाश्री प्रदान गरिने निर्णय भएको जनाइएको छ। सन् १९३२ मा भारतको असम गुहावटीमा जन्मिएका क्षत्रीको पहिलो रचना सन् १९४९ मा प्रकाशित भएको थियो। उनको उपन्यास 'बसाइँ' सदावहार चर्चित पुस्तक हो। उनका एक दर्जनभन्दा धेरै कृति प्रकाशनमा आएका छन्। 

२०१२ सालमा स्थापना भएको मदन पुरस्कारको राशी अहिले दुई लाख रहेको छ। जगदम्बाश्री प्राप्त साधकलाई पनि दुई लाख नै प्रदान गरिँदै आएको छ। पुरस्कार प्रत्येक वर्ष घटस्थापनाको भोलिपल्ट वितरण गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell