PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

यसरी हुँदैछ 'युद्धस्तर'मा काम, नेपाली कामदार भन्छन्- 'चीन त्यसै बनेको होइन रहेछ'



पहिलोपोस्ट

यसरी हुँदैछ 'युद्धस्तर'मा काम, नेपाली कामदार भन्छन्- 'चीन त्यसै बनेको होइन रहेछ'

काठमाडौं : नवलपरासीको दुम्कीवासदेखि छत्रेडाँडासम्म जाने बाटोमा अहिले दिनरात एक्स्काभेटर चलिरहेको छ। दिनरात नभनी सडक खोस्रिरेहका छन् एक्स्काभेटर। यो सडकमा युद्धस्तरमा काम भइरहेको छ।
 
२० किलोमिटर लामो यो सडक डबल लेनको बन्दैछ। यो बाटोको काम देखेर स्थानीय समेत चकित छन्। यसरी युद्धस्तरमा सरकारले बाटो बनाइरहेको छ? होइन, यो नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग स्थापना गर्ने अनुमति पाएको होङसी शिवम् सिमेन्टले बनाएको हो। नेपालको शिवम् सिमेन्ट र चीनको हङकङ रेड लायन ३ लिमिटेड सिमेन्ट कम्पनीले संयुक्त लगानीमा यो उद्योग निर्माण हुन लागेको हो।
 
चिनियाँ कम्पनी भएकै कारण उसले एउटा डेडलाइन तयार गरेको छ- सन् २०१८ भित्र सिमेन्टको व्यवसायिक उत्पादन थाल्ने।
 
यो डेडलाइन पाउन युद्धस्तरमा काम गर्नुको विकल्प छैन। सिमेन्टको व्यावसायिक उत्पादनका लागि खानीबाट कच्चा पदार्थ ल्याउनुपर्छ। कच्चा पदार्थ ल्याउन एक्सेस रोड एक वर्षभित्रै तयार नगरी सम्भव छैन। स्रोतका अनुसार त्यही लक्ष्य भेट्टाउन चिनियाँको निर्देशनमा एक्स्काभेटरले दिनरात काम गरिरहेको छ। एक वर्षभित्र उद्योग रहेको नवलपरासीको वेनिमनिपुर र खानी रहेको पाल्पाको ज्यामिरेबीचको बाटो निर्माण गरिसक्ने लक्ष्य जसरी भएपनि पाउन चिनियाँ लागिरहेका छन्। अहिले छत्रेडाँडाको पहरो काट्ने काम भइरहेको उद्योगका एक कर्मचारीले बताए।
 
ती कर्मचारीका अनुसार चिनियाँ पक्षले दिनरात नभनी काम अघि बढाउन निर्माण भएको स्थानमा कामदारलार्इ निर्देशन गरिरहेका छन्।
'चीन त्यसै बनेको होइन रहेछ। कुनै पनि काम तोकिएको समयमा भ्याउनुपर्छ भन्ने भावना उनीहरुमा देखिन्छ,' ती कर्मचारीले भने, 'निर्माणमा खटिएका नेपाली कामदार समेत आश्चर्यचकित छन्।'
 
उद्योगले आवश्यक कच्चा पदार्थ ल्याउनका लागि सडक मार्गका अलावा केही स्थानमा सुरुङमार्ग समेत प्रयोग गर्नेछ। सडक, सुरुङ लगायतका पूर्वाधारलार्इ मात्रै तीन अर्ब रुपैयाँ खर्चिन लागेको ती कर्मचारीले बताए। अत्याधुनिक प्रविधिमार्फत दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य यो उद्योगले राखेको छ। यो उद्योगले उत्पादनमा आएको केही समयभित्रै १२ हजार टन सिमेन्ट उत्पादन गर्ने जनाएको छ।
 
स्रोतका अनुसार उद्योग र खानी स्थापनाका लागि आवश्यक वातावरणीय परीक्षण समेत अन्तिम चरणमा पुगेको छ । ती कर्मचारीका अनुसार वातावरणीय परीक्षणको फाइल वातावरण मन्त्रालयमा अन्तिम स्वीकृतिको चरणमा छ। कम्पनीले नवलपरासीको वेनीमनिपुरमा उद्योग स्थापनाका लागि एक सय बिघा जग्गा किनेर रिटेनिङ वाल समेत लगाइसकेको छ। उद्योगमा स्थिर पुँजी ३४ अर्ब ७१ करोड, चालु पुँजी २ अर्ब ४ करोड सहित कुल ३६ अर्ब ७५ करोड ९२ लाखको लगानीमा यो उद्योग सञ्चालनमा आउन लागेको हो।
 
लगानी बोर्ड गत वर्षको साउन १२ गते शिवम् सिमेन्टलाई विदेशी लगानी ल्याउन स्वीकृति दिएपछि चीनबाट पहिलोपल्ट सिमेन्टमा ठूलो रकमको प्रत्यक्ष लगानी भित्रिएको हो। होङ्सीलाई लगानी अनुमतिपछि शिवम् सिमेन्ट अन्तर्गतको शिवम् होल्डिङ्स् र होङ्सी ग्रुपअन्तर्गतको होङ्सी होल्डिङ्सको  संयुक्त लगानी (जेभी) मा नेपालमा ‘होङ्सी शिवम् सिमेन्ट प्रालि’नामको सिमेन्ट उत्पादन कम्पनी स्थापना भएको छ। स्वदेशी लगानी ३० प्रतिशत र विदेशी लगानी ७० प्रतिशत रहने रहनेछ। उद्योगमा शिवम सिमेन्टको १३ अर्ब ४ करोड रुपैयाँ लगानी रहनेछ भने होङसी ग्रुपको २५ अर्ब रहनेछ। ऋण र लगानीको अनुपात भने होङसीको ६२.४१ प्रतिशत र शिवम सिमेन्टको ३७.५९ प्रतिशत रहनेछ ।
 
प्रतिदिन १२ हजार टन र वार्षिक ४३ लाख ८० हजार टन क्लिङ्कर र सिमेन्ट उत्पादन हुनेछ। उद्योगबाट ओपिसी सिमेन्ट ९ लाख २० हजार टन र पिपिसी सिमेन्ट १३ लाख ८० हजार टन उत्पादन हुनेछ । यो उद्योगमा एक हजार ५० जनाले रोजगारी पाउनेछन् । यो उद्योगका लागि ५० मेगावाट बिजुली आवश्यक पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell