PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

नेपाल भाषा साहित्यको 'श्रेष्ठ सिरपा' पाउने भक्तपुरका सात स्रष्टा सम्मानित



पहिलोपोस्ट

नेपाल भाषा साहित्यको 'श्रेष्ठ सिरपा' पाउने भक्तपुरका सात स्रष्टा सम्मानित

भक्तपुर : नेपालभाषा साहित्यको 'नोबेल पुरस्कार' मानिने श्रेष्ठ सिरपा (पुरस्कार) पाउने भक्तपुरका सात साहित्यकार एवं स्रष्टाहरु सम्मानित भएका छन्।
 
नेपालभाषाका महाकवि सिद्धिदास महाजुको १४९ औं जन्मजयन्तीको अवसरमा सिद्धिदास प्रतिष्ठान भक्तपुरले श्रेष्ठ सिरपा पाउने सात स्रष्टाहरुलाई सम्मान गरेको हो।
 
प्रतिष्ठानले भक्तपुरका स्रष्टाहरु पूर्णबहादुर वैद्य, डा. योगेन्द्र प्रधान, रामशेखर नकर्मी, केवलप्रसाद कायस्थ, डा. दिनेशराज भुजू, ध्रुव मधिकर्मी र प्रतिसरा सायमीलाई दोसल्ला ओढाएर ताम्रपत्रले सम्मान गरेको छ।
 
वरिष्ठ कवि वैद्यले नेपाल संवत् १०८७, स्रष्टा प्रधानले नेपाल संवत् १०८८, वरिष्ठ साहित्यकार नकर्मीले नेपाल संवत १०९१ र स्रष्टा कायस्थले नेपाल संवत् १०९९ मा श्रेष्ठ सिरपा पाएका थिए। त्यस्तै प्राज्ञ डा. भुजूले नेपाल संवत् ११०४ मा साहित्यकार मधिकर्मीले नेपाल संवत् ११०६ र कवयित्री सायमीले नेपाल संवत् ११२६ मा श्रेष्ठ सिरपा –पुरस्कारले सम्मानित भएका थिए।
 
स्वयम्भूलाल श्रेष्ठले स्थापना गरेका उक्त सिरपामा नेपालभाषा साहित्यमा लेखिएको उत्कृष्ट पुस्तकलाई प्रत्येक वर्ष यो सिरपा दिइन्छ। श्रेष्ठ सिरपा पाउने स्रष्टा तथा साहित्यकारहरुलाई सम्मान गर्दै नेपालभाषा एकेडेमीका कुलपति शताब्दी पुरुष सत्यमोहन जोशीले श्रेष्ठ सिरपाले नेपालभाषा साहित्यको क्षेत्रमा धेरै उत्कृष्ट साहित्य र साहित्यकारको जन्म भएको बताए।

‘श्रेष्ठ सिरपाकै कारण धुस्वाँ सायमीको गंकी जस्तो महाकाव्यको सिर्जना भएको हो,' उनले भने, ‘यो सिरपा पाउन नेपालभाषामा साहित्य नलेखेका नेपालभाषा क्षेत्रका साहित्यकाहरुले पनि नेपालभाषामा साहित्य लेख्न थालेका थिए।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell