PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सुनसान छ सरकारी सस्तो पसल, उपभोक्ता भन्छन्- 'पाँच रुपैयाँ सस्तो खोज्न ट्याक्सी लिएर आउनु?'



अमर बडुवाल

सुनसान छ सरकारी सस्तो पसल, उपभोक्ता भन्छन्- 'पाँच रुपैयाँ सस्तो खोज्न ट्याक्सी लिएर आउनु?'

काठमाडौं : सरकारले तामझामका साथ गतसाता सहुलियत पसल सुरु गर्‍यो। चाडपर्वमा सस्तोमा अत्यावश्यक खाद्यान्न बिक्री गर्ने उद्देश्यसहित सुरु भएको पसलमा उपभोक्ता फाट्टफुट्ट मात्रै देखिएका छन्। 
 
आपूर्तिमन्त्री दीपक बोहोराले उद्घाटन गरेको सिंहदरबारमा ग्राहक नै छिर्दैनन्। करोडौं अनुदान दिएर सरकारी स्वामित्वको खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ लिमिटेड र दुग्ध विकास संस्थानले संयुक्त रुपमा पसल राखेका छन्। तर उपभोक्ता नआएर संस्थानका कर्मचारी समेत निराश छन्।
 
सस्तोमा दिँदा पनि किन सोचेजति आएनन् उपभोक्ता?
 
सरकारले दिएको सहुलियत थोरै छ तर खाद्यान्न लिन भने गाडी चढेर सिंहदरबार धाउनुपर्छ। पायक पर्ने ठाउँमा सस्तो पसल नहँदा खाद्यान्न किन्न सवारी साधन हुनुपर्ने वा ट्याक्सी नै लिएर आउनुपर्ने बाध्यता छ। त्यो पनि खाद्यान्नमा किलोमा पाँच रुपैयाँ मात्रै छुट छ। सामान किन्न आउँदा र जाँदाको बस भाडाले सहुलियत दिएको रकमले पुग्दैन।
 
विगतको वर्षमा उपभोक्ताको चाप बढी भए पनि अहिले चहल/पहल नै नभएको नेशनल ट्रेडिङकी बिक्री विभाग प्रमुख गीता निरौलाले बताइन्। 'जुम्लाको स्याउ, सिमीदेखि नुन, तेल, घिउ, पनिर र मसला समेत राखेर एकै ठाउँबाट सेवा दिँदा उपभोक्ता बढ्ने अनुमान गरेका थियौं तर दैनक कारोबार कसैको ५० हजार छ भने कसैको २/३ लाखसम्म मात्रै, उनले भनिन्, 'सामान्य समयमा ८४ रुपैयाँ किलो चिनी बेचेको नेशनल ट्रेडिङले अहिले ७९ रुपैयाँ किलो बेचिरहेको छ। बजारमा ५/६ किलो सम्म चिनी किन्नेलाई ८० रुपैयाँ सम्म प्रतिकिलो दिएकोले पनि सस्तो पसलमा भिडभाड नभएको हो।'
 

बजार मूल्य कति?

कीर्तिपुरका खुद्रा व्यावसायी विष्णु अधिकारीले आफ्नो पसलबाट चिनी प्रतिकिलो ८४ रुपैयाँमा बेचिरहेका छन्। नुन प्याकेटको २० रुपैयाँ नै लिन्छन्। सोयाविन कुक तेल १२० रुपैयाँ लिटर बेच्छन्।
 
सस्तो पसलमा कुक तेल प्रतिलिटर १२५ रुपैयाँ तोकिएको छ। नुन भने प्याकेटको १६ रुपैयाँमै दिने गरेको साल्ट ट्रेडिङका सिंहदरवार बिक्री प्रमुख सुरेन्द्र अवालेले बताए।
 

किन गएनन् उपभोक्ता?

घट्टेकुलोका बलबहादुर कुँवरले नुनतेल लगायतका सामान किने। किराना पसलभन्दा केही वस्तु महँगो भएको उनले पाए। 'सरकारले सहुलियतमा खाद्यान्न बिक्री गरेको छ भनेर आएको झन् महँगो रहेछ,' उनले भने, 'चिनी र नुन मात्रै सस्तो दिने अरु सामान महँगो लिएपछि किन यहाँ धाउनु?'
 
विराटनगर घर भई अनामनगर बस्ने माधव भट्टराईले सरकारी संस्थानले बेचेकोले मात्रै किन्न आएको बताए। 'नाफा घाटा जोड्दा त घरमै ल्याइदिने स्टोरहरु छन्। घरमै पुर्‍याउँदा ५ रुपैयाँ बढी लिए के घाटा हुन्छ र?' भट्टराईले भने, 'यो त संस्थानले बेचेकाले सरकारलाई सहयोग होला भनेर मात्र किन्न आएको हो।'
 

चिनी ६ किलो र नुन ३ प्याकेट मात्रै

सस्तो पसलमा एक व्यक्तिले नुन ३ प्याकेट र चिनी ६ किलो मात्रै किन्न पाउँछन्। यदि उपभोक्ता गाडी चढेर आएर चिनी किन्दा गाडी भाडा बराबर पनि पैसा बचत हुँदैन।
 
भाडा तिरेर चिनी किन्न जानु भन्दा फोन गरेर घरमै मगाउने प्रचलनले उपभोक्ता नआएको कर्मचारीको ठम्याइ छ। चामल किलोमा ५ रुपैयाँ कम गरेर बेच्दा २० किलोको चामलको बोरामा १०० रुपैयाँ बचत हुन्छ।
 
सामान लिन साधन छैन भने ट्याक्सी लिएर आउँदा अझै महँगो पर्छ। उपत्यकामा सिंहदरबार, थापाथली, नख्खु, बल्खु, कंलकी, टेकु, कोटेश्वर, नारायणस्थान, बौद्ध, जोरपाटी, जावलाखेल र भक्तपुरमा सस्तो पसल सञ्चालनमा आएका छन्। उपत्यकाबाहिर पनि सरकारले सहुलियत पसल सञ्चालन गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell