
प्रिमियर लिग क्लब चेल्सी १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको लेस्टर सिटीलाई पराजित गर्दै इंगलिस फुटबल लिग कपको चौथो चरणमा प्रवेश गरेको छ।
प्रिमियर लिगकै लिभरपुल र आर्सनलले पनि जित हात पार्दा एभरटन भने च्याम्पियनसिप क्लब नर्विच सिटीसँग पराजित भएको छ।
गएरातिको खेलमा २ गोलले पछि परेको स्थिति उल्टाउँदै चेल्सीले अतिरिक्त समयमा लेस्टरलाई ४-२ ले पराजित गरेको हो। निर्धारित समयको खेल २-२ गोलको बराबरी सकिएपछि सेस फाब्रेगासले अतिरिक्त समयमा २ गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन्। ८९ औं मिनेटमा मार्चिन वासिलेस्की रातो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि लेस्टर अतिरिक्त समयमा १० खेलाडीमा झरेको हो। त्यसैको फाइदा उठाउँदै चेल्सीले २ गोल थपेको हो।
यसअघि सिन्जी ओकाजाकीले २ गोल गर्दै लेस्टरलाई अग्रत दिलाएका थिए। तर चेल्सीका डिफेन्डरद्वय ग्यारी काहिल र सेजार एपलीक्युएटाले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याएका थिए।
यस्तै आर्सनलले नटिङहम फरेस्टलाई ४-० ले पराजित गरेको छ रआर्सनलको सहज जिता यसै सिजन क्लब भित्र्याइएका लुकास पेरेजले २ गोल गरे भने ग्राइन्ट जाका र एलेक्स ओलेड च्याम्बरलाइनले १/१ गोल गरे।
लिभरपुलले पनि च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई उसैको मैदानमा ३-० ले हरायो। लिभरपुललाई जित दिलाउन रागनर क्लाभान, फिलिप काउटिन्हो र डिभोक ओरिगीले १/१ गोल गरे।
यता प्रिमियर लिग क्लब एभरटन भने च्याम्पियनसिपमा रहेको नर्विच सिटीसँग २-० ले पराजित भएके छ। नर्विचलाई जित दिलाउन एभरटनकै पूर्व खेलाडी स्टेभन नाइस्मिथ र जोस मर्फीले गोल गरे।
प्रिमियर लिगकै अर्को क्लब एएफसी बर्नमाउथ च्याम्पियनसिप क्लब प्रेष्टन नर्थ इन्डसँग ३-२ ले पराजित भएको छ। प्रेष्टन नर्थ इन्डको जितमा सिमाने माकिओनकले ह्याट्रिक गरे।
फुटबल लिगको अन्य खेलहरुमा रिडिङ, लिड्स युनाइटेड र न्युकासल युनाइटेड पनि विजयी हुँदै अन्तिम १६ मा प्रवेश गरेका छन्।