
सेभिया अपराजित यात्रालाई कायम राख्दै स्पानिस ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। गएराती सम्पन्न खेलमा सेभियाले रियल बेटिसलाई १-० ले हरायो। सेभियाको साँघुरो जितमा गाब्रिएल मर्काडोले ५१ औं मिनेटमा निर्णायक गोल गरे।
जितपछि ५ खेलबाट ३ जित र २ बराबरीका साथ ११ अंक जोडेको सेभिया दोस्रो स्थानमा उक्लेको हो। एक खेल कम खेलेको रियल मड्रिड १२ अंकका साथ शीर्ष स्थानमा छ।
गएराती नै भएको अर्को खेलमा मालागाले आइबरलाई २-१ ले पराजित गरेको छ। १ गोलले पछि परेको स्थिती उल्टाउँदै मालागाले यस सिजन ला लिगामा पहिलो जित हात पारेको हो। मालागाको जितमा सान्ड्रो रामिरेज र युसेफ नेस्रिले एक एक गोल गरे । यसअघि नानोले गोल गर्दै आइबरलाई अग्रता दिलाएका थिए।
जितपछि ५ खेलबाट ५ अंक नै जोडेको मालागा अंक तालिकाको १२ औं स्थानमा उक्लेको छ। यता पराजित आइबर ५ खेलबाट ७ अंक सहित सातौ स्थानमा कायमै छ।
ला लिगा अन्तर्गत आज राती ५ खेल हुँदैछन्। जसअन्तर्गत शीर्ष स्थानमाको रियलले भियारियालसँग राती पौने १२ बजे खेल्नेछ भने बार्सिलोना र एथ्लेटिको मड्रिडबिचको खेल पौने २ बजे हुनेछ।
यस्तै पौने १२ बजे नै सेल्टा भिगो र स्पोर्टिङ गिहोन बीचको खेल हुनेछ। ग्रानाडा र एथ्लेटिको विल्वाओ तथा रियल सोसिडाड र लसपलमस बीचको खेलहरु पौने २ बजे हुनेछ।