काठमाडौ : असंलग्न आन्दोलन (नाम) मा संलग्न मुलुकको १७ औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका उपराष्ट्रपति नन्दबहादुर पुन आज स्वदेश फर्किएका छन्।
भदौ २९ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पुन भेनेजुएला प्रस्थान गरेका थिए। उपराष्ट्रपति पुनलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाली, कृषिमन्त्री गौरीशङ्कर चौधरी, सुरक्षा अङ्गका प्रमुख, मुख्यसचिव र सरकारका वरिष्ठ अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
उनको स्वागतमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।
उपराष्ट्रपति पुनले नाम सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखको यही असोज १ र २ गते मार्गारिता टापुमा भएको उक्त शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए। साथै उनी भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो मोरोसले शिखर सम्मेलनमा सहभागी सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा आयोजना गरिएको रात्रिभोजमा समेत सहभागी भए।
बैठकमा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट संयुक्त राष्ट्र सङ्घका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्यालले नेतृत्व गरेका थिए। रासस