PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

भलिबल खेलाडीद्वय सन्जय अर्याल र मन्जु गुरुङ सम्मानित



पहिलोपोस्ट

भलिबल खेलाडीद्वय सन्जय अर्याल र मन्जु गुरुङ सम्मानित

काठमाडौं : राष्ट्रिय भलिबल टिमका खेलाडीद्वय सन्जय अर्याल र मन्जु गुरुङ सम्मानित भएका छन्।
 
सन्जय स्मृति प्रतिष्ठानले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी पुरुषतर्फ सन्जय र महिलातर्फ मन्जुलाई नगद २५ हजारसहित कदर पत्रद्वारा सम्मान गरेको हो।
 
नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले खेलाडीद्वयलाई कदर पत्र प्रदान गरे।
 
सन्जय राष्ट्रिय पुरुष टिमका उपकप्तान हुन् भने मन्जु राष्ट्रिय महिला टिमकी उपकप्तान हुन्।
 
सन्जय मास्केको स्मृतिमा पाल्पाको तानसेनमा ६ वर्षअघि स्थापना भएको प्रतिष्ठानले यसअघि पनि भलिबल खेलाडी इम रानामगर र नीता शाहलाई सम्मान गरेको थियो।
 
सम्मानित भएपछि नेपाल पुलिसका खेलाडी समेत रहेका सन्जयले यस्ता खालको सम्मानले भलिबल खेलाडीलाई गौरवान्वित महसुस बनाएको बताए। 'निजी क्षेत्रबाट सम्मान कार्यक्रम निरन्तर भइरहेको छ, यस्तो खालको कार्य नेपाल भलिबल संघले पनि गर्नु जरुरी छ,' उनले भने।
 
उनले अहिले नेपाली भलिबल तीन विभागीय क्लबले मात्र धानेको र संघको नयाँ कार्यसमितिले खासै उल्लेख्य काम गन नसकेको बताए।
 
नयाँ खेलाडी उत्पादनमा न्युडायमण्ड एकेडेमी नमुनाको रुपमा रहेको र भलिबल संघले पनि यस्ता कार्यमा ध्यान दिनुपर्ने बताए।

 
सन्जयले महिला टिमले दक्षिण एसियाली खेलकुदमा गोल्ड मेडलको टार्गेट राखे पनि त्यसअनुरुपको तयारी नभएको गुनासो पोखे। यस्तै एभिसी सेन्ट्र जोनमा पनि विगतमा भन्दा अझ राम्रो तयारी गर्दै उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उनले बताए।
 
यस्तै मन्जुले सम्मानले आफू लगायत खेलाडीमा थप हौसला मिलेको र अझ बढी जिम्मेवारी थपिएको बताइन्।

 
नयाँ शक्तिका संयोजक भट्टराईले यो दुई खेलाडीको मात्र सम्मान नभएर सम्पूर्ण खेलाडीको सम्मान भएको बताए। उनले नेपाली खेलकुद दलीयकरणबाट मुक्त हुनुपर्ने बताए। 'खेलकुद संघहरुमा गैरखेलाडी, राजनीतिक खेलाडीले ठाउँ ओगटेका छन्। नेपाली खेलक्षेत्रमा दल विशेषको हस्तक्षेप बन्द हुनुपर्छ,' उनले भने, 'गैरखेलाडी र पदाधिकारीलाई हटाउनुपर्छ। कार्यान्वयनको जिम्मा पनि खेलाडी अथवा खेल बुझ्ने व्यक्तिलाई नै दिनुपर्छ।'
 
आफू पनि स्कलुमा हुँदा भलिबल र ब्याड्मिन्टन खेलाडी भएको स्मरण गर्दै भट्टराईले भलिबल नेपालकै लोकप्रिय खेल रहेको बताए।
'स्वस्थ नागरिक बन्नका लागि खेलकुद आवश्यक छ र त्यसको लागि शिक्षा चाहिन्छ। जुन देश बढी विकसित र सम्वृद्ध छ, त्यहाँको खेलकुद र खेलाडीको स्थिती पनि राम्रो छ,' भट्टराईले भने।
 
भट्टराईले नेपाल पनि आर्थिक विकास र समृद्धिको नयाँ चरणको प्रवेश गरेको बताउँदै आशावादी बन्नुपर्ने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell