PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

भूकम्पपीडितलाई प्राधिकरणले सचेत गरायो-पहिलो किस्ता रकम दुरुपयोग गरे दोस्रोमा सहभागी गराइन्न



पहिलोपोस्ट

भूकम्पपीडितलाई प्राधिकरणले सचेत गरायो-पहिलो किस्ता रकम दुरुपयोग गरे दोस्रोमा सहभागी गराइन्न

काठमाडौं : भूकम्पपीडितलाई घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम वितरणका क्रममा मापदण्डमा नपरेका व्यक्तिले पनि अनुदान लिएको जानकारी आएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण भएको जनाएको छ।
 
प्राधिकरणले एक प्रेस नोट जारी गर्दै आफूहरुकहाँ गलत विवरण पेश गरी, झुक्याई वा अन्य कुनै कारणले अनुदान प्राप्त गर्ने सूचीमा नाम परेका तर अनुदान प्राप्त गर्ने मापदण्डमा नपरेका व्यक्तिले रकम लिएको सूचना आएको जनाएको हो। विभिन्न जिल्लामा अनुदान सम्झौता गरी आफूले पेश गरेको विवरण झुठ्ठा ठहरे कारबाहीका लागि मञ्जुर गरी सम्झौता गर्ने गरेकोमा सम्झौताको शर्तलाई उल्लघंन गरेको प्राधिकरणको भनाइ छ।
 
भूकम्पपीडित जनताले प्राप्त गर्ने रकम गलत विवरण पेश गरी अनुदान लिएमा, उजुरी परेमा र छानबिनपछि दोषी देखिएमा सरकारले प्रचलित कानुनबमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुल उपर गर्ने प्रावधान छ। यसैले सम्झौता बमोजिम अनुदान रकम सदुपयोग गर्न, घर बनाउने काममा मात्र उपयोग गर्न र घर बनाउने समयमा मात्रै सुविधा अनुसार बैंकबाट रकम भुक्तानी लिन पनि प्राधिकरणले अनुरोध गरेको छ। पहिलो किस्ता रकम दुरुपयोग गरेको पाइएमा दोस्रो किस्तामा सहभागी नगराउने कानुनी प्रावधान रहेको भन्दै प्राधिकरणले सचेत गराएको छ। 
 
भूकम्प अतिप्रभावित ११ जिल्लामा भूकम्पपीडित जनतासँग अनुदान सम्झौता भई घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता ५० हजार रुपैयाँ बैंकबाट वितरण गर्ने क्रम जारी छ।
 
असोज ४ गतेसम्म ४ लाख ५० हजार ३२ घरधनीसँग अनुदान सम्झौता भई बैंक खातामार्फत रकम भुक्तानी गर्ने क्रम जारी रहेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell